लण्डन उड्नुअघि माधव नेपालको ब्रिफिङ- ललिता निवासमा प्रचण्ड सरकारको निर्णय कार्यान्वयन गरेको हुँ – Nepal Press

लण्डन उड्नुअघि माधव नेपालको ब्रिफिङ- ललिता निवासमा प्रचण्ड सरकारको निर्णय कार्यान्वयन गरेको हुँ

विदेश जानुअघि सर्वोच्च अदालतको आदेशबारे प्रधानमन्त्रीसँग छलफल गर्दै माधव नेपालले भने- तपाईँकै सरकारको गुरुयोजना अघि बढाएको थिएँ

काठमाडौं । पार्टीनिकट प्रवासी नेपालीको कार्यक्रममा भाग लिन बेलायत जानुअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेका छन् ।

नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफू विदेश जान लागेको भन्दै सर्वोच्चले आफूमाथि समेत अनुसन्धान गर्नू भनी दिएको आदेश कार्यान्वयन सरकारले कसरी गर्छ भनेर चासो राखेको स्रोतले जनाएको छ ।

नेपालले आफूनिकट नेताहरूसँग लण्डन जानुअघि अनौपचारिक ब्रिफिङ गर्दै बालुवाटारस्थित विशिष्ट व्यक्तिहरूको सरकारी आवास विस्तार गर्ने प्रचण्ड नेतृत्वको सरकारको निर्णय आफ्नो पालामा कार्यान्वयन गरिएको विषय आफूले राखेको बताएका छन् ।

नेपालको भनाइ उद्धृत गर्दै नेकपा एसका एक नेताले भने- यो विषयमा मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु । २०६५ सालमा पहिलो पटक प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारी आवास विस्तार गर्ने नीतिगत निर्णय भएको रहेछ,मेरो पालमा त प्रचण्ड सरकारको गुरुयोजना कार्यान्वयन अघि बढाइएको हो । यसमा म कसरी दोषी हुन सक्छु ? अनुसन्धान त गरे भइहाल्यो ।

प्रचण्ड नेतृत्वको सरकारले कुन मितिमा नीतिगत निर्णय भएको थियो भन्ने अहिलेसम्म बाहिर नआए पनि पूर्व प्रधानमन्त्री नेपालले यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारको निर्णय आफूले कार्यान्वयनमा लगेको बताउँदै आएका छन् ।

यसैबीच माओवादी संसदीय दलको सोमवारको बैठकले ललिता निवास प्रकरणमा दोषी जो भए पनि नछाड्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।


प्रतिक्रिया

3 thoughts on “लण्डन उड्नुअघि माधव नेपालको ब्रिफिङ- ललिता निवासमा प्रचण्ड सरकारको निर्णय कार्यान्वयन गरेको हुँ

  1. माधवको भनाई अनुसार त ललिता निवासको मुख्य नाईके त प्रचण्ड पो रहेछन् ।के हो ? वहालवालाई पो समात्नुपर्ने देखियो त ।

  2. यति थाह नपाउनेले के कमेन्ट गरेकोहौ? सरकारी आवास बिस्तारको गुरुयोजनाले नै आज ललिता निवासस प्रकरणको सत्य बाहिर आएको देखियो।प्रचण्डले त ब्यक्तिलाइ दिनहोइन सरकारी आवाश बढाउने पो निर्णय गरेकारहेछन् त अनि कसरी प्रचण्डदोषिदेखियो हौ तोरिलाउरे कमेन्ट्रहो किकसो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर