ग्लोबल टी-२० : अन्तिम बलमा टाइगर्सको रोमाञ्चक जित, पहिलो सहभागितामै दीपेन्द्रले उचाले उपाधि – Nepal Press

ग्लोबल टी-२० : अन्तिम बलमा टाइगर्सको रोमाञ्चक जित, पहिलो सहभागितामै दीपेन्द्रले उचाले उपाधि

काठमाडौं । ग्लोबल टी-२० क्यानडा २०२३ को उपाधि मोन्ट्रियल टाइगर्सले जितेको छ । रोमाञ्चक फाइनल खेलमा सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै टाइगर्सले अन्तिम बलमा जित निकालेको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरी सम्मिलित टाइगर्स र सन्दीप लामिछाने सम्मिलित जगुअर्सबीच उपाधि भिडन्त भएको थियो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको जगुअर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३० रनमात्र जोड्न सक्यो ।

टाइगर्सका बलरहरूले कसिलो बलिङ गर्दा जगुअर्सका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । ओमानी ओपनर जतिन्दर सिंहले ५७ बल खेल्दै सर्वाधिक ५६ रन बनाए । टाइगर्सका लागि युएईका बलर आयन अफजल खानले २ विकेट लिए । दीपेन्द्रले बलिङ गर्न पाएनन् ।

कठिन पीचमा १३१ रनको सामान्य लक्ष्य पनि टाइगर्सका लाग भारी बन्यो । ११.४ ओभरमा ६० रनमात्र बनाउँदा टाइगर्सले चार विकेट गुमाएको थियो । त्यसपछि वेस्ट इन्डियन ब्याट्सम्यान सेफरेन रदरफोर्ड र दीपेन्द्रले इनिङ सम्हाल्ने प्रयास गरे ।

उनीहरूबीच ४५ रनको महत्त्वपूर्ण साझेदारी भयो, तर रन रेटको प्रेसर बढेपछि टीमले दीपेन्द्रलाई फिर्ता गरेर वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान एन्ड्रे रसेललाई ल्याउने निर्णय गर्‍यो । दीपेन्द्र १६ रनमा रिटायर्ड आउट भए, जतिबेला टीमलाई दुई ओभरमा २५ रन चाहिएको थियो ।

टाइगर्सको निर्णय सही साबित पनि भयो । रसेलले पहिलो बलमा पावरफुल हिट गर्दै चौका निकाले । यही ओभरमा रदरफोर्डले एक छक्का प्रहार गर्दै टीमको आशा बढाए ।

अन्तिम ओभरमा टाइगर्सलाई जितका लागि १२ रन आवश्यक थियो । स्ट्राइकमा रदरफोर्ड थिए । उनले पहिलो बलमा सिंगल लिएपछि स्ट्राइकमा आए रसेल । दोस्रो बलमा उनले विशाल छक्का हाने । त्यसपछिको समीकरण थियो ४ बलमा ५ रन । तर टाइगर्सका लागि त्यो पनि सहज भएन ।

तेस्रो, चौथो र पाँचौं बलमा एक एक रन मात्र बन्यो । अन्तिम बलमा दुई रन चाहिएको अवस्था स्ट्राइकमा थिए रसेल । उनले हावामा उडाइदिएको बल छक्का भयो । टाइगर्सले खेल जित्यो ।

जगुअर्सका लागि कप्तान इफ्तिकार अहमदले चार ओभरमा ८ रन मात्र खर्चेर दुई विकेट लिए । सन्दीपले ३ ओभरमा २० रन खर्चिँदा विकेट लिन सकेनन् । उनको बलमा विकेटकिपरले एउटा क्याच छुटाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *