पोखराको लामेआहालमा फोहोर फाल्न कानूनी बाटो खुल्यो, कसरी हटाउला महानगरले स्थानीय अवरोध ? – Nepal Press

पोखराको लामेआहालमा फोहोर फाल्न कानूनी बाटो खुल्यो, कसरी हटाउला महानगरले स्थानीय अवरोध ?

पोखरा । पोखरा महानगरपालिकालाई वडा नम्बर ३२ लामेआहालमा फोहोर फाल्न कानूनी बाटो खुला भएको छ ।

स्थानीय रविन केसीसहित ३ जनाले लामेआहालमा फोहोर फाल्न रोक्न अन्तरिम आदेश माग गर्दै पोखरा महानगरपालिकाविरुद्ध उच्च अदालत पोखरामा साउन ११ गते रिट दायर गरेका थिए ।

उच्चले आइतबार केसी लगायतको रिटमा अन्तरिम आदेश दिनु नपर्ने ठहर्याएको छ । न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालासले निवेदकको अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।

रविन केसीसहित तीर्थेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले पोखरा महानगरविरुद्ध रिट दायर गरेका थिए । उनीहरुले पुसदेखि लामेआहाल भन्ने ठाउँको सेती नदीमा महानगरले फोहोर विसर्जन गर्दा फैलिएको दुर्गन्धले यहाँ बसिसक्नु नभएको र स्वास प्रश्वासनको रोगदेखि लिएर हैजा जस्तो संक्रामक रोगले यहाँका बासिन्दा पीडित भएको रिट निवेदनमा उल्लेख गरेका थिए ।

रिटमा मागिएको अन्तरिम आदेश अदालत नदिएको हुँदा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म महानगरपालिकालाई कानूनी बाटो खुला भएको छ ।

विसर्जन गरेको फोहोरका कारण प्रदूषण फैलन गई रोग व्याधीले आक्रान्त पारेको र सेती नदी प्रदूषण भएको हुँदा पोखरा महानगरको यो हर्कत तत्काल नरोक्ने हो भने यहाँको जनजीवनमा थप अपूर्णीय क्षति पुग्ने निश्चित प्रायः रहेको रिट निवेदनमा उल्लेख गरेका थिए ।

निवेदनको अन्तिम टुंगो नलाग्दासम्म सेती नदीको लामेआहालको खाल्टोमा कुनै फोहोर विसर्जन नगर्न, नफाल्न अन्तरिम आदेश जारी गर्न गरेको माग उच्च अदालत पोखराले अस्वीकार गरेको हो ।

तत्कालका लागि कानुनी बाटो खुला भएपनि स्थानीयको अवरोधलाई व्यावहारिक रुपमा हटाउन पोखरा महानगरलाई चुनौती छ । स्थानीयको अवरोधका कारण गत ११ दिनदेखि पोखरामा फोहोर उठ्न सकेको छैन ।

लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो ।

केही दिनअघि मात्रै महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न रोक लगाएका पोखरा महानगरपालिका ३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा स्थानीयले वार्ता गर्न गएका मेयरसहितका जनप्रतिनिधिलाई विरोध जनाएका थिए ।

दिनदिनै लगिएको फोहोर दिनहुँ नै माटोले पुर्नुपर्नेमा त्यसो नहुँदा दुर्गन्ध फैलिएको स्थानीय बासिन्दाको भनाइ छ । मेयर आचार्यले माटोमा पुर्न कुनैकुनै दिन कमजोरी भएको हुनसक्ने स्वीकार्दै प्रतिबद्धता पूर्णरुपमा पालना गर्ने बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरणमा समस्या भएपछि पोखरा १४ बाच्छेबुडुमा रहेको ल्यान्डफिलबाट सारेर अस्थायी रुपमा पोखरा महानगरपालिका ३२, लामेआहालको सेती नदी किनारमा फोहोर फाल्न थालिएको थियो ।

स्थानीयले ल्यान्डफिलमा सही ढंगले फोहोर व्यवस्थापन नभएर दुर्गन्ध फैलिएको तथा सडक कच्ची हुँदा बर्खामा हिलो र हिउँदमा धुलो भएर आफूहरुले सास्ती खेप्नुपरेको भन्दै फोहोर ल्याउन अवरोध गरेका हुन् ।

स्थानीयसँग गरेका १६ वटा प्रतिबद्धता पूरा गरेको मेयर आचार्य बताउँछन् । ‘साँझ ५ बजेभित्रसम्म मात्रै फोहोर लैजाने र पुर्ने भन्ने हो, कुनै कुनै दिन मौसम लगायत कारण पुरिएन होला, तर १६ का सबै बुँदा पूरा गरेकै छौं’, उनले भने, ‘फोहोर फाल्न त्यो क्षेत्रको जुन सदायसता छ, महानगरपालिकाले त्यहाँको विकास निर्माणलाई प्राथमिकतामा राखेर काम पनि गरिरहेको छ ।’

पोखरा महानगरपालिकाले फोहोरलाई अब ल्यान्डफिल साइटमा नफाली प्रशोधन केन्द्रमा विसर्जन गर्ने योजना अघि सारेको छ । त्यसका लागि पोखरामै ९६ रोपनी जमिन अधिग्रहणको प्रक्रिया अघि बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर