चोर्न खोजेको सामान पेस्तोल परेपछि… – Nepal Press

चोर्न खोजेको सामान पेस्तोल परेपछि…

काठमाडौं । कागेश्वरी मनोहरा-१ जागलफेदीमा गत असार ३० गते राति आसपासका केही घरबाट मोबाइल चोरी भयो । एकै रात २/३ वटा मोबाइल चोरी भएकाले चोरी गर्ने समूह एउटै भएको प्रहरीको अनुमान थियो ।

सोही ठाउँ बस्ने एक व्यक्तिले सोही रात आफ्नो पेस्तोल चोरी भएको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी गरेका थिए । ती उजुरीकर्ता थिए सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पीएसओ प्रभाकर खड्का । प्रहरीकै हतियार चोरी भएकाले काठमाडौं प्रहरी परिसरको विशेष टोलीले तत्कालै अनुसन्धान अगाडि बढायो । खड्काले आफू सुतिरहेको बेला पेस्तोल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीको आशंका थियो– जुन टोलीले मोबाइल चोरी गरेका हुन्, पेस्तोल चोरी पनि उनिहरुले नै गरेका हुन्। मोबाइललगायतका सामान चोर्न खोज्दा त्यसमा पेस्तोल परेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका थियो ।

हराएको मोबाइलमध्ये एउटा मोबाइलको लोकेसन ललितपुरको सातदोबाटो क्षेत्रमा देखिएपछि प्रहरीलाई केही सजिलो भयो ।

त्यही ‘क्लू’का आधारमा प्रहरीले हराएको पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोलीसहित चोरीमा संलग्न सिन्धुपाल्चोक घर भएका बासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ गर्योभ। प्रहरीका अनुसार उनिहरुले बौद्धस्थित कोठामा पेस्तोल सिरानीमा लुकाएर राखेका थिए ।

‘चोरी भएको मोबाइलको लक तोड्न सातदोबाटो क्षेत्रमा रहेको एक मोबाइल पसलमा लगेको देखिएपछि त्यहीँबाट सुरु भएको अनुसन्धानमा चोर र चोरी भएको हतियारसम्म पुग्न सफल भयौँ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

प्रहरीले पक्राउ परेका दुई जनाको साथबाट चोरी भएका केही मोबाइलहरु पनि बरामद भएको जनाएको छ। सोधपुछका क्रममा पक्राउ परेकाले अंकुशले तानेर सामान चोर्न खोज्दा त्यसमा पेस्तोल परेको बयान दिएको एक अनुसन्धान अधिकारीले जानकारी दिए ।

काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलले पेस्तोल बरामद भएकाले अन्य विषयमा अनुसन्धान भइरहेको बताए ।

‘सुतिरहेको ठाउँबाट पेस्तोल चोरी भएको भन्ने छ । चोरी भएको पेस्तोलसहित २ जना पनि पक्राउ परेका छन् । विस्तृतमा अनुसन्धान भइरहेको छ’, एसपी ढुंगेलले भने । पक्राउ परेका व्यक्तिहरुको आपराधिक पृष्ठभूमीबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *