सुदूरपश्चिमका कानून मन्त्रीसहित तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको प्रतिवेदन बुझाइयो


कैलाली । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाबारे छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन पेश गरेको छ ।
आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा समितिका संयोजक गङ्गाबहादुर खरेलले मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
घटनाबारे अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाउन गठित समितिको संयोजक रहेका खरेल मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव हुन् । उनी सहित समितिका सदस्यहरूले प्रतिवेदन बुझाएका हुन् ।
असार ५ गते सवार गाडी दुर्घटनामा आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह निधन भएको थियो । उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको २ दिन पछि बसेको मन्त्री परिषद् बैठकले दुर्घटनाको छानबिनका सात सदस्यीय समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरी, प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल ७ वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव ९प्रशासन० नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर सदस्य रहेका थिए ।
१५ दिनभित्र समितिलाई घटनाको सम्बन्धमा अनुसन्धान प्रतिवेदन पेस गर्ने समयावधि दिए पनि समितिले डेढ महिनामा सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । गाडीमा सवार मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन् ।