शय्या अभाव भएपछि कान्ति बाल अस्पतालमा एउटै बेडमा तीनजनासम्मको उपचार (भिडिओ) – Nepal Press

शय्या अभाव भएपछि कान्ति बाल अस्पतालमा एउटै बेडमा तीनजनासम्मको उपचार (भिडिओ)

काठमाडौं । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।बालबालिकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ ।

यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरु चाप छ । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिए । एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

स्पतालमा ३३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको छ । साथै नर्सिङ जनशक्तिको पनि अभाव रहेको छ । डा.बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालीकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए ।

डा.बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्‍याउनुपर्ने अवस्था रहेको बताए । उनले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताए । हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन् ।

डा.बसौलाले भने ‘बिरामी संख्या हेर्दाखेरी अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ । अत्यधिक चाप चाहीँ साउन भदौ महिनामा देखिन्छ । दैनिक हेर्दाखेरी आठ सयदेखि नौ सयको हाराहारीमा ओपीडीमा आउनेको संख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी आउने गर्छन् । हाम्रो अहिले तीन सय ३० बेडलेपनि धान्न सकेको छैन । एउटा बेडमा दुई जना तिन जना बसेको देख्न सक्नुहुन्छ । अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सक्नुहुन्छ । २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ । एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति छ । २५ बेडमा पनि ५०/६० जना बालबालिका राख्नुपर्ने अवस्था छ । ओपीडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चारदिनदेखि बिरामीको अत्यधिक चाप छ ।’

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिनुभयो । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ ।

एक हजार शैय्याको अस्पताल निर्माण गर्ने गरि डिपिआर पूरा भएको जानकारी दिँदै डा.बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भबन बनाउने योजना रहेको बताए । इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।

‘एक हजार शैय्याको अस्पताल निर्माण गर्नेगरी डिपिआर पूरा भएको छ । पाँच वटा बील्डीङ बनाउने योजना छ । जसमध्ये तीन वटा हस्पीटल बिल्डीङ र दुई वटा बिल्डिङ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि बनाउन लागेका छौं । खास गरी बेडको संख्या बढाउनुपर्ने देखिन्छ । ३३० बेडले धान्दैन । हामीले ५५० को ओएनएम गरेर स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाइसकेका छौं । त्यो स्वीकृत भएर आएको खण्डमा अस्पतालको बेड संख्या बढ्ने र जनशक्तिपनि बढ्न गइ सेवा प्रबाह गर्न सजिलो हुनेथियो ।’ उनी भन्छन् ।

अस्पतालकाे नाममा  जग्गा भएपनि भवन नहुँदा समस्या थपिएकाे उनी बताउँछन् ।

डा‌. बसाैला भन्छन्, ‘अप्रेसन गर्नुपर्ने डेट अलिकति लामो हुन्छ । हामीसँग जम्मा दुई वटा मेजरटी छ । र, कुनै दिनपनि खाली हुँदैन । ६ दिन अप्रेसन गर्दा पनि हामीले भिड हटाउन सकेका छैनौं । अत्याधुनिक ओटी बनाउने भनेका थियौं, तर त्योपनि सफल हुन सकेन । अप्रेसन थियटरको संख्या बढाउनुपर्ने देखिन्छ । हामीसँग ९५ रोपनी जग्गा छ । जग्गाको अभाव छैन । भवनको अभाव भने खड्किएको छ । कान्ति बाल अस्पताल ६१ वर्ष पुग्दापनि हामीसँग एमआरआई सेवा छैन । जाइकाले हालसालै एमआरआई दिँदैछ । त्यसपछि दुई तिन महिना भित्र नै हामीले सेवा शुरु गर्छौं । र, नयाँ सिटि सेवा पनि शुरु गर्दैछौं । एमआरआई गर्नुप¥यो भने अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *