सेउतीमा रोहितलाई गोली हानी हत्या गर्नेहरू लागुऔषधदेखि जबर्जस्ती करणी मुद्दामा सजाय भोगेकासम्म – Nepal Press

सेउतीमा रोहितलाई गोली हानी हत्या गर्नेहरू लागुऔषधदेखि जबर्जस्ती करणी मुद्दामा सजाय भोगेकासम्म

विराटनगर । इटहरी-धरान सडक खण्डअन्तर्गत चारकोसे जंगलको सेउती पुलनजिक गोली हानी हत्या गरिएका रोहित चौधरीको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । जन्म दिन मनाएर धनकुटा मुलघाट पुगेर फर्कने क्रममा विराटनगर महानगरपालिका-५ का २८ वर्षीय चौधरीको साउन ५ गते साँझ गोली हानी हत्या गरिएको थियो ।

हत्या भएको १५ दिनपछि हत्यामा संलग्न ५ जनाबाट पेस्तोल र हातहतियार बरामद भएको छ ।

प्रहरीले धरान उपमहानगरपालिका-८ घर भई इटहरी उपमहानगरपालिका-४ मा बस्दै आएका २९ वर्षीय सुजन तामाङ मोरङको लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दीपक तिम्सिना पक्राउ गरेको छ । पक्राउ परेका अन्यमा झापा भद्रपुर नगरपालिका-१ पृथ्वीनगर घर भई धरान-८ भोटे पुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू, धरान- १० का ३४ वर्षीय अनसन तामाङ र विराटनगर महानगरपालिका-१५ जनपथ टोलका ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा छन् ।

विराटनगर फर्किने क्रममा रोहित र सँगै रहेकी किशोरी सेउती पुलनजिकै जंगल रोकिएका थिए । किशोरीमाथि तीनजनाको समूहले लुट्न खोज्दा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाबाट बरामद हतियार ।

‘लुटपाट हुन आँटेपछि रोहितले धेरै हल्लाखल्ला गरे । प्रतिकारमा उत्रिए,’ डीएसपी राजकुमार राईले भने, ‘लागुऔषध सेवन गरेको गिरोहले उनको दाहिने कोखामा गोली हान्यो । छटपटाउँदै र लरखराउँदै सडकमा आइपुगेपछि रोहित बेहोस भए ।’

गिरोहले किशोरीबाट सुनको ४ आनाको सिक्री, मोबाइल र ‘लेडिज ब्याग’ लुटेर लगेको राईले बताए ।

पक्राउ पर्नेमध्ये दीपक र अनसनको साथबाट हत्यामा प्रयोग गरिएको सेमी अटोमेटिक पेस्तोल, नौ राउन्ड गोली, दुई थान म्यागेजिन, पाँचवटा कालो झोला, चारवटा ‘लेडिज ब्याग’, दुईवटा खुकुरी, पाँचवटा मोबाइल, औँठी र गोलीको खोका लगायत प्रहरीले बरामद गरेको थियो ।

सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार रोहितमाथि दीपकले गोली हानेका थिए ।

‘दीपक, प्रकाश तथा सुजन मिलेर रोहित र किशोरीमाथि लुटपाटको प्रयास गरेछन्,’ उनले भने, ‘प्रतिकार गर्दा साथमा बोकेको पेस्तोलबाट आपराधिक पृष्ठभूमिका दीपकले गोली प्रहार गरेको खुल्यो ।’

हत्या तथा लुटपाटमा दीपक, प्रकाश र सुजनको प्रत्यक्ष संलग्नता रहेको तथा घटनामा अरूले सहयोग गरेको पाइएको ढकालले बताए । उनका अनुसार प्रयोग भएको पेस्तोल अजयले उपलब्ध गराएको खुलेको छ । हत्यापछि अनसनले पेस्तोल लुकाउन भूमिका खेलेको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल धरानको विजयपुरस्थित दीपक र अनसनको कोठाबाट बरामद गरेको थियो ।

लागुऔषध मुद्दामा चार वर्ष आठ महिना कैद सजाय भुक्तान गरेर चार महिनाअघि छुटेका अजय पछिल्लो समय आपराधिक समूहलाई हतियार ‘सप्लाई’ गर्ने धन्दामा संलग्न रहेको एसपी ढकालले बताए ।
उनका अनुसार पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरेर दुई महिनाअघि छुटेका थिए । अनसन लागुऔषध मुद्दामा छ महिना कैद भुक्तान गरेर दुई वर्षअघि छुटेका हुन् ।
प्रकाश लागुऔषधका प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

लुटपाटमा संलग्न गिरोहले साउन ५ गते साँझ ५:२० बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका-२० सेउती पुलनजिक गोली हानेर रोहितको हत्या गरेको थियो । २८औं जन्मदिन मनाउन घुमघामका लागि धनकुटाको मुलघाटसम्म पुगेर फर्कने क्रममा लुटेरा समूहले चारकोसे जङ्गलको बिचमा उनीमाथि गोली हानेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर