ग्लोबल टी-२० मा दीपेन्द्रको रोचक आँकडा : हरेक खेलमा २०-३० रन र २ चौका – Nepal Press

ग्लोबल टी-२० मा दीपेन्द्रको रोचक आँकडा : हरेक खेलमा २०-३० रन र २ चौका

हरेक म्याचमा उपयोगी रन : न सस्तोमा आउट भए, न ठूलो स्कोर बनाए

काठमाडौं । नेपाली स्टार दीपेन्द्रसिंह ऐरीको टीम मोन्ट्रियल टाइगर्स क्यानडामा जारी ग्लोबल टी–२० को फाइनलमा पुगेको छ । टीमलाई यहाँसम्म ल्याउन दीपेन्द्रले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

पहिलो पटक हाइप्रोफाइल अन्तर्राष्ट्रिय लिग खेलिरहेका दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा आफ्नो प्रभाव देखाउन सफल भएका छन् । खासगरि उनको ब्याटिङ र फिल्डिङको निकै प्रशंसा भइरहेको छ । बलिङमा भने उनले यथेष्ट मौका पाएका छैनन् । अहिलेसम्म ७ खेल खेल्दा ३ वटामा मात्रै उनलाई कप्तानले बल दिए । ३ खेलमा ६ ओभर बल फ्याँक्दा दीपेन्द्रले ४२ रन खर्चेर २ विकेट लिएका छन् ।

ब्याटिङतर्फ भने दीपेन्द्रको प्रदर्शन निकै स्थिर र महत्त्वपूर्ण मात्रै नभएर रोचक पनि छ । उनी कुनै पनि खेलमा सस्तैमा आउट भएका छैनन् र कुनैमा पनि ठूलो स्कोर बनाउन सकेका छैनन् । हरेक खेलमा उनले उपयोगी र म्याचविनङ साझेदारीहरू गरेका छन् ।

टीमले अहिलेसम्म खेलेका ८ मध्ये सात खेलमा प्लेइङ ११ मा परेका दीपेन्द्रले ५ वटा खेलमा ब्याटिङ गर्न पाए । त्यसमा उनको उच्च स्कोर २८ छ भने न्यून स्कोर छ २२ । अर्थात् उनले प्रत्येक खेलमा २० र ३० को बीचमा रन बनाएका छन् ।

प्राय संकटको अवस्थामा ब्याटिङ गर्न आएकाले उनले आक्रामकता देखाउन भने पाएनन् । अर्को इन्डबाट आक्रामकरुपमा खेलिरहेका ब्याट्सम्यानलाई साथ दिएर उनले टीमलाई जितसम्म पुर्‍याउन सहयोग गरेका छन् ।

आफ्नो पहिलो म्याचमा नै दीपेन्द्रले टीमका लागि उच्च स्कोर बनाएका थिए । टीमले ७१ रनमा ४ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका उनले २२ बल खेल्दै २८ रनको योगदान दिए ।

उनलाई नेपालकै सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका थिए । सर्रे जगुअर्सविरुद्धको खेलमा मोन्ट्रियल टाइगर्सले विजयी सुरुवात गरेको थियो ।
पहिलो खेलमा राम्रो ब्याटिङ गरे पनि दीपेन्द्रलाई दोस्रो खेलमा प्लेइङ ११ मा समावेश गरिएन । यद्यपि, मिस्सिसाउगा प्यान्थर्सविरुद्धको सो खेल पनि मोन्ट्रियलले जित्यो ।

भान्कुभर नाइट्सविरुद्धको तेस्रो खेलमा दीपेन्द्रले फेरि प्लेइङ ११ मा कमब्याक गरे । त्यसमा उनको ब्याटबाट निस्कियो नटआउट २२ रन । टीमले ६७ रनमा चार विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका दीपेन्द्रले शेरफेन रदरफोर्डसँग ८६ रनको म्याचविनिङ साझेदारी गरेका थिए ।

ब्राम्प्टन उल्भ्सविरुद्धको चौंथो म्याचमा दीपेन्द्रमा मोन्ट्रियल टाइगर्सले पहिलो हार चाख्यो । यो खेलमा पनि दीपेन्द्रले टीमलाई जिततर्फ लैजान प्रयास गरेका थिए । उनी २४ बलमा २८ रन बनाएर आउट भए । दीपेन्द्रको विकेट नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो । खेल उल्भ्सले १५ रनले जित्यो ।

टोरन्टो नेसनलविरुद्धको पाचौं म्याचमा दीपेन्द्रले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन् । वर्षाका कारण ६ ओभरमा घटाइएको खेल मोन्ट्रियलले २३ रनले जित्यो । समूह चरणको अन्तिम खेलमा भान्कुभर नाइट्सले मोन्ट्रियललाई ९ विकेटले हरायो । यस खेलमा दीपेन्द्रले २७ बलमा २४ रन बनाए ।

उनको टीम ९९ रनमा नै समेटिएको थियो । तर, समूहमा तेस्रो भएर मोन्ट्रियलले इलिमिनेटरमा स्थान बनायो ।

ब्रम्प्टन उल्भ्सविरुद्धको इलिमिनेटरमा मोन्ट्रियलले ९ विकेटको जित दर्ता गर्दै दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित गर्यो । यो म्याचमा पनि दीपेन्द्रले ब्याटिङ गर्ने पालो आएन ।

आज राति भएको भान्कुभर नाइट्स विरुद्धको दोस्रो क्वालिफायर्समा मोन्ट्रियलले एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ । यस म्याचमा पनि दीपेन्द्रले उपयोगी रन बनाए । टीम संकटमा परेका बेला उनले २८ बलमा २५ रन जोड्दै शेरफेन रदरफोर्डसँग महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

यसरी दीपेन्द्रले हरेक म्याचमा छैटौँ नम्बरमा ब्याटिङ गरेर ३१.७५ को औसतमा १२७ रन बटुलेका छन् । ग्लोबल टी–२० को जारी संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी १२ औँ नम्बरमा छन् ।

दीपेन्द्रको उनको स्ट्राइक रेट १०३.२५ छ, जुन टी–२० मा कम मानिन्छ । तर, जुन कन्डिसनमा दीपेन्द्रले ब्याटिङमा उत्रिएका छन्, त्यसमा स्ट्राइक रेट भन्दा पनि क्रिजमा टिक्नु महत्त्वपूर्ण थियो ।

दीपेन्द्रको ब्याटिङमा अर्को पनि रोचक संयोग छ । ५ मध्ये ४ वटा खेलमा उनले समान २–२ चौका प्रहार गरे । एउटा खेलमा भने उनको ब्याटबाट ३ चौका निस्कियो ।

उनले कुनै पनि म्याचमा छक्का प्रहार गर्न भने सकेनन् । वा भनौँ कन्डिसनका कारण आफ्नो बिग हिटिङ क्षमतालाई लुकाउन बाध्य गरौँ । आशा गरौँ आज हुने फाइनलमा दीपेन्द्रको ब्याट खुलेर बोल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *