नवलपरासी कांग्रेसमा विवाद : केन्द्रले तोकेको महिला संघको सभापतिविरुद्ध इतर समूहको अर्को समिति – Nepal Press

नवलपरासी कांग्रेसमा विवाद : केन्द्रले तोकेको महिला संघको सभापतिविरुद्ध इतर समूहको अर्को समिति

रुपन्देही । पश्चिम नवलपरासीमा महिला संघको नेतृत्व चयनको विषयलाई लिएर नेपाली काङ्ग्रेसमा दुई समूहबीच विवाद बढेको छ ।

कार्यसमितिको पदावधि सकिएसँगै केन्द्रले जिल्ला सभापतिका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला समितिलाई पत्र पठाएकै भोलिपल्ट तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएको थियो ।

जिल्लाले सिफारिस गर्न नपाउँदै अध्यक्ष उषा रावत मिश्रले संस्थापन समूहकी तारादेवी भण्डारीलाई नै तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरूले विधान विपरीत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

केन्द्रको निर्णयमा आपत्ति जनाउँदै क्रियाशील महिलाहरूको भेलाले पश्चिम नवलपरासीमा मिठुकुमारी केसीको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन् ।

‘सबै महिलाहरू अवसरका लागि पार्टीमा दुःख गरेका छन् कुनै व्यक्ति विशेषलाई नै तोकेर पठाउने भए अरूले राजनीतिक किन गर्नु,जिल्लामा छलफल हुनु पर्दैन ?’ तदर्थ समितिका अध्यक्ष मिठु केसीको भनाई छ । भेलामा उपस्थित महिलाहरूले काङ्ग्रेसमा अझै पनि टिके प्रथाको अन्त्य हुन नसकेको उनीहरूले बताएका छन् ।

केन्द्रबाट पत्र आएसँगै जिल्लामा कम भएको विवाद पुनः बढेको हो । मूलतः संस्थापन पक्षले एकोहोरो रूपमा पत्र पठाएको र विधान अनुरूप चल्नु पर्ने भन्दै इतर समूहले असन्तुष्टि जनाउँदै आएको छ ।

केन्द्रले तोकेर पठाएको पत्र आधिकारिक भएकोले सोही मनोनयन नै मान्य हुने जिल्लाका संस्थापन पक्षका नेताहरूको भनाई छ । तर पत्र आएपछि महिला संघमा आबद्ध महिलाहरूले आफूहरूको राजनीति भविष्य केन्द्रले खोस्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् ।

संस्थापन समूहका नेता एवम् पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलको दबाबमा केन्द्रले पत्र पठाएको उनीहरूको आरोप रहेको छ ।

यता नेता कँडेलले भने विधानमा जिल्ला सभापति हुनलाई महाधिवेशन प्रतिनिधि हुनुपर्ने प्रावधान रहेकाले जिल्ला कार्यसमितिले समयमै त्यस्तो नाम सिफारिस गर्न नसकेकाले केन्द्रले अन्य जिल्लामा जस्तै तारादेवी भण्डारीलाई मनोनयन गरेर पठाएको दाबी गरेका छन् । ‘यो सामान्य विषय हो अरू जिल्लामा पनि पत्र आएको छ,तदर्थ समिति अधिवेशनसम्म मात्रै हो यसलाई ठूलो विषय बनाउनु जरुरी छैन’ नेता कँडेलको भनाइ छ ।

केन्द्रले पत्र पठाउँदा महाधिवेशन प्रतिनिधिमध्येबाट भनेर पत्रमा स्पष्ट नखुलाएको र पत्र पठाउनेबितिकै कुनै समय नदिई केन्द्रबाटै मनोनीत गरिएकाले क्रियाशील महिलाहरूले आपत्ति जनाएको इतर समूहका नेता विक्रम खनालको भनाइ छ ।

‘महाधिवेशन प्रतिनिधि रहनुपर्ने कुरा विधानमा रहे पनि ठिक छ तर पत्रमा पनि नखुलाइने, समय पनि नदिई सिफारिस गर्ने के यो उचित हो ?’ खनालको प्रश्न छ । तदर्थ समिति रहे पनि सबै महिलाहरूको भावनालाई कदर गरिनुपर्ने खनालको धारणा छ ।

जिल्लामा इतर समूहबाट विक्रम खनाल र संस्थापन पक्षबाट पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कँडेलको दुई गुट रहेकाले जिल्लामा सधैँ विवाद उत्पन्न हुने गरेको छ ।

मंसिरमा भएको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ बाट विक्रम खनाल र विनोद चौधरीको टिकट विवाद भएपछि केन्द्रीय दबाबमा संस्थापन पक्षका विनोद चौधरीले टिकट हात पारेपछिको विवादले जिल्लामा पार्टीको तीन धार बनेको छ ।

स्थानीय नेता कार्यकर्ता बलियो पार्टीमा बढेको गुटले कांग्रेसलाई कमजोर बनाएको चिन्ता गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर