ग्लोबल टी २० को फाइनलमा सन्दीप र दीपेन्द्र आमनेसामने – Nepal Press

ग्लोबल टी २० को फाइनलमा सन्दीप र दीपेन्द्र आमनेसामने

काठमाडौं । ग्लोबल टी २० क्यानडाको फाइनलमा दुई नेपाली स्टार आमनेसामने हुने भएका छन् ।

दोस्रो प्लेअफमा दीपेन्द्र आबद्ध मोन्ट्रियल टाइगर्सले भान्कुभर नाइट्सलाई १ विकेटले हराउँदै फाइनलमा सन्दीप आबद्ध सर्रे जगुअर्ससँग भेट पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको भ्यानकुभरले निर्धारित २० ओभरमा १३७ रन मात्रै जोड्न सक्यो । पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवानले ३३ बलमा सर्वाधिक ३९ रन बनाए ।

मोन्ट्रियलका अब्बास अफ्रिदीले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिकसहित ५ विकेट लिए । उनले भृत्य अरविन्द, कोरविन बोस्च र कप्तान रसी भान डेर डसेलाई लगातार बलमा आउट गरेपछि खेलमा मोन्ट्रियल हाबी भएको थियो ।

त्यस लगत्तैको बलमा आयान अफजल खानले मोहम्मद रिजवानलाई आउट गरे । दीपेन्द्रले भने बलिङको मौका पाएनन् ।

१३८ रनको विजय लक्ष्य पछ्याएको मोन्ट्रियलले निकै खराब सुरूवात गर्‍यो । २९ रनमा ४ विकेट गुमाएपछि सेरफेन रदरफोर्ड र दीपेन्द्रले मोन्ट्रियलको इनिङ सम्हालेका थिए । उनीहरूबीच ४३ रनको महत्त्वपूर्ण साझेदारी भयो । तर १२.३ ओभरमा ७२ रनको अवस्थामा दीपेन्द्र आउट भएपछि मोन्ट्रियल फेरि धरमराएको थियो । दीपेन्द्रले २८ बलमा २ चौकासहित २५ रन जोडे ।

अर्को इन्डबाट विकेट लगातार गइरहँदा रदरफोर्डले भने धैर्यता गुमाएनन् । उनले ३४ बलमा ३ छक्का र दुई चौकासहित अविजित ४८ रन जोड्दै टीमलाई जित दिलाए । एन्ड्रे रसेलले ११ बलमा १७ रन र आयन खानले १२ बलमा १८ रन बनाएर साथ दिएका थिए । मोन्ट्रियलले १९।३ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

मोन्ट्रियल र जगुअर्सबीचको फाइनल खेल आज राति हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *