ग्लोबल टि २०- सन्दीपकाे टीम फाइनलमा, दीपेन्द्रको टीम दोस्रो प्लेअफमा – Nepal Press

ग्लोबल टि २०- सन्दीपकाे टीम फाइनलमा, दीपेन्द्रको टीम दोस्रो प्लेअफमा

उपाधिका लागि होला सन्दीप र दीपेन्द्रको भिडन्त ?

काठमाडौं । सन्दीप लामिछाने आवद्ध सर्रे जगेअर्स ग्लोबल टी २० को फाइनलमा पुगेको छ । हिजो राति भएको पहिलो क्वालिफायरमा भ्यानकुभर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले उपाधि भिडन्त पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सर्रे निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । १४० रनको सामान्य लक्ष्य पछ्याएको भ्यानकुभर १६.१ ओेभरमा १०२ रनमै अलआउट भयो ।

सर्रेका लागि म्याथ्यु फोर्डले घातक बलिङ गर्दै २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सन्दीपले ३ ओेभरमा १५ रन खर्चेर एक विकेट लिएका थिए । भ्याकुभरका लागि फ्याबियन अलेनले सर्वाधिक २७ रन बनाए ।

हिजै भएको इलिमिनेटरमा दीपेन्द्र सिंह ऐरीको मान्ट्रियल टाइगरले ब्राम्प्टन उल्भ्सविरूद्ध सहज जित निकाल्दै दोस्रो प्लेअफमा स्थान बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको उल्भ्स निर्धारित २० ओभरमा १०४ रनमा नै अलआउट भयो । टाइगर्सका लागि कार्लोस ब्रेथह्वाइट र आयन फैजल खानले २-२ विकेट लिए । दीपेन्द्रले एक ओेभरमा ६ रन खर्चेर १ विकेट लिए । उनको बलमा न्युजिल्याण्डका ब्याट्सम्यान मार्क चापम्यान बोल्ड भएका थिए ।

पहिलो ओभरमा उत्कृष्ट बलिङ गरे पनि कपणतान क्रिस लिनले दीपेन्द्रलाई दोस्रो ओेभर दिएनन् । दीपेन्द्रको उत्कृष्ट फिल्डिङमा मोन्ट्रियललाई अर्को पनि मह्तवपूर्ण विकेट मिल्यो । उनले न्युजिल्याण्डकै अर्का खतरनाक ब्याट्सम्यान कोलिन डी ग्रान्डहोमलाई रनआउटको शिकार बनाएका थिए ।

१०४ रनको झिनो लक्ष मोन्ट्रियलले १४।२ ओभरमा मात्र १ विकेट गुमाएर हासिल गर्यो । मोन्ट्रियलका लागि कप्तान क्रिस लिनले ४७ बलमा ६३ रन बनाए ।

मोन्ट्रियलले आज दोस्रो क्वालिफायरमा भ्यानकुभर नाइट्ससँग भिड्नेछ । यदि जित हासिल गरेमा भोलि उपाधिका लागि सन्दीपको सर्रे जगुअर्स र दीपेन्द्रको मोन्ट्रियल आपसमा भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर