११ लाख रुपैयाँ बस भित्रैबाट गायब भएपछि… – Nepal Press

११ लाख रुपैयाँ बस भित्रैबाट गायब भएपछि…

कैलाली । बिहीबार बिहान करिब ७ः४५ मा कैलालीको अत्तरिया बसपार्कमा रहेका प्रहरीसम्म ११ लाख रुपैयाँ रहेको झोला बस भित्रैबाट हराएको सूचना पुग्यो । प्रहरीलाई सूचना स्वयं ११ लाख रुपैयाँ हराएका विरा भारतीले गरेका थिए ।

‘म झोला राखेर बाहिर गएको थिएँ, ठूलो झोलाभित्र अर्को सानो झोला थियो । त्यसमा ११ लाख रुपैयाँ थियो । अहिले त्यो झोला छैन’, भारतीले प्रहरीलाई एकै सासमा बयान दिए ।

बस भित्रबाटै ११ लाख रुपैयाँ हराएको सूचना तत्काल सर्वत्र फैलियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दसहितको प्रहरी टोली बसपार्क पुग्यो । अनुसन्धान र छानबिन गर्दा प्रहरीले कुनै क्लु फेला पार्न सकेन ।

प्रहरी स्रोतका अनुसार भारती बझाङ जाने भन्दै बिहीबार करिब ६ बजे घरबाट निस्किएका थिए । धनगढीबाटै बझाङ जाने गाडी पाइँदा पनि ११ लाख रुपैयाँ लिएर अत्तरिया पुगेका थिए ।

अत्तरिया बसपार्कको सीसी क्यामेराअनुसार उनी ६ः४४ मा बसपार्क पुगेको देखिन्छ । ७ः१३ मा उनी चढ्ने बस धनगढीबाट अत्तरिया बसपार्कमा आइपुगेको थियो । ७ः२८ मा बसभित्र झोला राखेर भारती निस्किएका थिए ।

‘टाउको दुख्यो औषधि लिएर आउँछु भनेर उहाँ बाहिर निस्किनुभएको थियो’, बसका चालक नरेश भट्ट भन्छन्, ‘उहाँको झोला जाँदा पनि त्यही थियो, आउँदा पनि त्यही नै थियो । तर, उहाँले आएर एक्कासि मेरो पैसा हरायो भन्न थाल्नुभयो ।’

७ः२८ मा बसबाट निस्किएका उनी ११ मिनेटपछि फर्किएका थिए । लगत्तै ११ लाख रुपैयाँ भएको झोला हराएको पत्तो पाएका भारतीले प्रहरीकहाँ जानकारी गराए ।

‘तपाईंले झोला नखोल्दै कसरी थाहा पाउनुभयो पैसा चोरी भएको ?’, प्रहरीको प्रश्नमा उनको जवाफ थियो, ‘मैले झोला उचालें, तौलबाट थाहा भयो । पहिले गह्रुँगो थियो, अहिले तौल कम छ ।’

झोला नखोल्दै पैसा हराएको उनको भनाइमा प्रहरी नै अचम्मित भयो । त्यसमाथि ११ लाख भएको झोला गाडीमै राखेर निस्किएका भारतीको भनाइलाई विश्वास गर्ने कि नगर्ने प्रहरी दोधारमा परेको थियो ।

प्रहरीले बससहित सबै यात्रुलाई इलाका प्रहरी कार्यालय मालाखेती लग्यो । त्यहाँ सबैको तलासी गर्दा प्रहरीले कुनै सुराक फेला पार्न सकेन । ‘हामीले सबैलाई दुईदुई पटक चेकजाँच गरेका थियौं’, मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक वासुदेव भट्टले भने, तर, ‘कुनै क्लु फेला परेन ।’

केही नभेटिएपछि यात्रु लिएर बस बिहान ११ बजे बझाङतर्फ लागेको थियो । तर, प्रहरीले अहिलेसम्म घटनाबारे केही तथ्य पत्ता लगाउन सकेको छैन । प्रहरीलाई भारतीले भनेअनुसारको घटना नै भयो कि भएन भन्ने शंका छ ।

‘५-१० हजार रुपैयाँ त चोरी हुनसक्छ भनेर मान्छेहरू चनाखो हुन्छन् । उहाँले ११ लाख रुपैयाँ भएको झोला बसमै छोडेर पछि आउँदा चोरी भयो भन्ने विषय नै शङ्कास्पद छ । उहाँको रकम चोरी भएको हुनसक्छ । तर, घटनाको अवस्था सहज र सरल छैन’, प्रहरीको अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीले त्यस बेलाको सीसी क्यामेराको अध्ययन गरिरहेको छ । ‘ठ्याक्कै बसभित्र देखिने क्यामेरा रहेनछ’, प्रहरी अधिकारीले भने, ‘त्यसभन्दा बाहिरको अवस्था हेर्दा हामीले केही फेला पारेका छैनौं ।’

प्रहरीका अनुसार भारतीले बुधबार सिटिजन बैंकबाट उक्त रकम निकालेका थिए । भारतीले बैंकबाट निकालेको उक्त रकमको फोटो पनि खिचेका छन् । जुन रकम भोलिपल्ट बस भित्रैबाट गायब भएको छ ।

प्रहरीले भरतीको घरमा पनि खानतलासी गरेको थियो । ‘कतै रकम घरमै छुट्यो कि भनेर हामी घरमा पनि गएका थियौं, त्यहाँ पनि केही भेटिएन’, ती प्रहरी अधिकारी भन्छन्, ‘हामी छानबिन गरिरहेका छौं । भारतीसँग निरन्तर संवादमा छौं ।’

निर्माण व्यवसायी भारतीले आफ्नो रकम हराउँदा पनि प्रहरीले उचित छानबिन गरेर अहिलेसम्म केही पत्ता नलगाएको गुनासो गरे ।

‘मेरो त्यति ठूलो रकम हराएको छ । प्रहरीले अहिलेसम्म केही पत्ता लगाएको छैन’, उनले भने, ‘हराएको ठाउँमा प्रहरीले धेरै छानबिन गरेन । मोटरसाइकलमा राखेर प्रहरी कार्यालय पुर्‍याइयो ।’

उनले बुधबार सिटिजन बैंकबाट दुई पटकमा ९ लाख ९९ हजार रुपैयाँ निकालेको बताए । उनका अनुसार पहिलो पटक ११ हजार र अर्काे पटकमा ९ लाख ८८ हजार निकालेका थिए ।

बैंकबाट निकालेको ९ लाख ९९ हजारमा आफूसँग भएको एक लाख थपेर मजदुर दिन आफू बिहीबार बझाङ जान लागेको भारतीले जानकारी दिए । आफू बागथला बिजगडा सडकमा पेटी ठेकेदार रहेको उनले बताए ।

उक्त सडकमा काम गरिरहेका मजदुरलाई भुक्तानी दिन निकालेको रकम हराएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदीप चन्दले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “११ लाख रुपैयाँ बस भित्रैबाट गायब भएपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *