भाइ चौकीदार पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा कारागार शान्त – Nepal Press

भाइ चौकीदार पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा कारागार शान्त

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा भएको घटना साम्य भएको छ । झण्डै २ घण्टा अशान्त भएको कारागार शान्त भएको हो । कैदीबन्दी र प्रशासनबीचको वार्तापछि कारागार शान्त बनेको जेलर मोहनलाल पनेरुले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सुरक्षाका प्रमुखहरुसँग कैदीबन्दीले राखेको माग सम्बोधन गर्ने भनेपछि अवस्था सामान्य बनेको हो ।

कैदीबन्दीहरुले चौकीदार लय शिवाकोटीलाई हटाउनुपर्ने र भाइ चौकीदारलाई सरुवा गर्न नहुने माग राखेका छन् । उनीहरुको मागलाई उचित ढंगबाट सम्बोधन गर्ने भनेपछि कैदीबन्दीहरु सहमतिमा आएका छन् ।

झापा कारागारका जेलर पनेरुका अनुसार आज भाइ चौकीदार मनोज लावतीलाई झुम्का सरुवा गर्ने तयारी थियो । लावतीलाई हत्कडी लगाउनासाथ होहल्ला गरेपछि कैदीबन्दीले झडप गरेका थिए । उनीहरुले लावतीलाई सरुवा गर्न नहुने भन्दै नाराबाजी गर्दै आगजनीसमेत गरेका थिए ।

भाइ चौकीदार लावतीलाई सरुवा गर्न प्रमुख चौकीदार शिवाकोटीले भूमिका खेलेको भन्दै कैन्दीबन्दीहरुले उनलाई जेलबाट हटाएर अर्को ठाउँ सरुवा गर्नुपर्ने माग राखेका छन् । वार्तामा कैदीबन्दीलाई भित्रको सुरक्षा व्यवस्थालाई व्यवस्थित नगरे राज्यले आफ्नो ढंगबाट प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।

जेलर पनेरुले शिवाकोटीको सरुवाका लागि विभागीय पत्र नआएको जानकारी दिए । शिवाकोटी र लावती दुवै जना अलग–अलग घटनामा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर