ज्ञानेन्द्रले क्यानलाई पठाए इमेल, अध्यक्ष चन्द भन्छन्- सम्मानपूर्ण विदाई गर्छौं – Nepal Press

ज्ञानेन्द्रले क्यानलाई पठाए इमेल, अध्यक्ष चन्द भन्छन्- सम्मानपूर्ण विदाई गर्छौं

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो सन्यास घोषणाबारे नेपाल क्रिकेट संघलाई औपचारिक जानकारी गराएका छन् । आज पत्रकार सम्मेलन गर्नुभन्दा अगाडि इमेलमार्फत मल्लले क्यानलाई जानकारी दिएका हुन् ।

दिउँसो २ बजेर २१ मिनेटमा पठाएको इमेलमा मल्लले आज पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्न गइरहेको बताएका छन् । क्यानको योगदानप्रति आभार प्रकट गरेका छन् ।

क्यानका प्रवक्ता दुर्गाराज पाठकले मल्लको इमेल प्राप्त भएको र उनको निर्णयलाई सम्मान गर्ने बताए ।

‘हाम्रो लागि अलिकति अप्रत्याशित त हो, तर उहाँले गर्नुभएको निर्णयलाई सम्मान गर्नुपर्छ । उहाँले लामो समय नेपाली क्रिकेटलाई दिनुभयो । एउटा असल र अनुशासित खेलाडी हो । म प्राविधिकरुपमा नेपालकै उत्कृष्ट ब्याट्सम्यानका रुपमा चिन्छु । उहाँको योगदानका लागि नेपाल क्रिकेट संघ आभारी छ’, उनले भने ।

खेलाडीका रुपमा नदेखेपछि अन्य भूमिकामा मल्ललाई देख्न पाउने अपेक्षा पाठकको छ ।

‘खेलाडी भएपछि एक दिन रिटायर हुनैपर्छ । उहाँसँग खेल्ने समय पनि बाँकी थियो । तर, खेल जीवनबाट सन्न्यास लिए पनि उहाँले भविष्यमा पनि कुनै न कुनै भूमिकामा नेपाली क्रिकेटभित्रै थप योगदान दिनुहुनेछ भन्ने आशा राखेका छौं’, उनले थपे ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले ज्ञानेन्द्र मल्लको निर्णय स्वभाविक र ‘समयसापेक्ष’ रहेको प्रतिक्रिया दिए । क्यानले मल्लको सम्मानपूर्ण विदाई गर्ने उनको भनाइ छ ।

चन्दले नेपाल प्रेससँग भने, ‘पछिल्लो समय उनले पनि मन बनाइसकेका थिए । उमेरको हिसाबले पनि तत्कालीन अवस्थामा नयाँ खेलाडीहरुलाई ठाउँ दिनुपर्छ भन्ने कुरा गरिरहेका थिए । यसलाई हामीले समयसापेक्ष निर्णयका रुपमा लिएका छौं । हेरौं अब यसपछिको रोल के हुन्छ ।’

औपचारिक विदाइ गर्नेबारे बोर्ड वैठकमा छलफल हुने उनले बताए ।

‘उहाँको आज लन्डनको फ्लाइट रहेछ । फर्केर आएपछि क्यानले सम्मानसहित विदाइ गर्छ । उहाँको लामो योगदानको सम्मान गर्दै राम्रो फेयरवेल गर्छौं’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *