भालुवाङ-प्यूठान सडकको सुख्खा पहिरो उस्तै, खुलेन सवारी – Nepal Press

भालुवाङ-प्यूठान सडकको सुख्खा पहिरो उस्तै, खुलेन सवारी

रुपन्देही । बुधबारदेखि अवरुद्ध भालुवाङ-प्यूठान सडक अझै खुलेको छैन । भालुवाङ सडक खण्डको गर्जेनीमा खसेको सुख्खा पहिरो हटाउन नसक्दा बाटो नखुलेको हो । बुधवार राति त्यस क्षेत्रमा पहिरो झरेको थियो ।

पहिरो अहिले पनि उस्तै छ । गर्जेनी भीर क्षेत्रको साँघुरो भित्ता काटेर सडक फराकिलो पार्ने क्रममा जमिन थर्किएर कमजोर बन्दा पहिरो झरिरहेको छ । एकै ठाउँमा पहिरो झरेको छ तर ठूलो छ ।
चार वटा मेसिनको प्रयोगबाट जोखिम मोलेर पहिरो हटाउने प्रयास भैरहेको छ तर सफल हुन सकेका छैनन् । पहिरो हटाउन सडक विभागका कर्मचारी र प्रहरी खटेका छन् ।

बड्डाडा-चकचके सडक कमजोर भौगोलिक बनावट भएका कारणले पहिरो झर्ने गरेको सडक डिभिजन प्रमुख राजिव श्रेष्ठले बताए । आकस्मिक मर्मत संभार अन्तर्गत पहिरो सफा गर्न बर्सेनि करिव ४० लाख रुपैयाँ विनियोजन गर्दै आएको सडक डिभिजनले जनाएको छ ।

सडकको माथि चट्टानी भीर र तलतिर माडी नदी भएकोले पैदल मार्गसमेत नहुँदा यात्रुलाई पैदल यात्रा गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन् । भालुवाङ-प्यूठान तथा रोल्पाको एकमात्र सडक खण्डमा पहिरो रोकेपछि आवतजावत गर्न समस्या भएको छ ।

साथै टाढाको यात्रा गर्ने यात्रुहरूले वैकल्पिक बाटो (देविस्थानदेखि घोराहीसम्मको ४८ किलोमिटर) हुँदै यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ । पहिरोको केही भाग हटाए पनि फेरी माथिबाट ढुंगा माटो खस्दा समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालय प्यूठानले शुक्रबार पनि बिहानैदेखि बाटो खुलाउने काम जारी राखेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सुवास खड्काले जानकारी दिए ।

‘पन्छाउने काम चलिरहेको छ, अहिलेसम्मकै ठूलो सुख्खा पहिरो हो । सडकदेखि करिब ५० मिटरमाथि र बाटोको एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर