जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’ – Nepal Press

जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’

त्रिवेणी । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन् ।’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका-४ मा पियारीको बसोबास छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन् ।

पियारी आमाले कावासोती-४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी छन् । निःसन्तान उनी श्रीमान्‌को मृत्यु भएपछि एक्लै बस्दै आएकी छन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै छ ।

विद्यालयलाई दिएको जग्गामै उनको घर छ । खेतमा हुने सबै उब्जनी विद्यालयलाई दिने दिने गरेकी छन् ।

‘मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न । त्यसैले यहाँ जे-जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु’, उनी सुनाउँछिन् ।

पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्दै आएकी छन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।

पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेल बताउँछन् ।

‘अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला-बेलामा सहयोग प्रदान गर्नुभएको छ’, पौडेल भन्छन् ।

अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव पियारीलाई शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मानसमेत गरेको छ ।

शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उहाँको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए ।

‘शिक्षाको विकासमा विनास्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ’, उनले भने ।

-रासस


प्रतिक्रिया

One thought on “जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर