काँठ मरिसकेको छैन: विश्व कुइँकेल – Nepal Press

काँठ मरिसकेको छैन: विश्व कुइँकेल

काठमाडौं । अचेल मान्छेहरु भन्छन्, ‘काठमाडौं शहर तन्कँदै गएकाले काँठ मर्दै गएको छ ।’

मुख्य शहरभन्दा केही बाहिरको ग्रामीण भूगोल नै काँठ हो । जहाँ शहरी र ग्रामीण जीवनशैलीको सम्मिश्रण पाइन्छन् । कुनै समय काठमाडौंमा शहर भनेकै असन, इन्द्रचोक थिए । त्यसवेला डिल्लीबजार नै काँठ थियो ।

विस्तारै डिल्लीबजारले शहरको प्रारुप लिँदै गयो । अनि चाबहिलमा सर्‍यो काँठ । चाबहिल हुँदै आरुबारी पुग्यो । आरुबारीभन्दा माथि गोकर्ण पुग्यो । बागेश्वरी, मच्छेगाउँ हुँदै फर्किङतिर काँठ पुग्यो । अहिले त गोकर्णबाट पनि काँठ सर्दैसर्दै काठमाडौंका भित्ताहरुमा पुगिसकेको बताइन्छ ।

तर, काँठको संस्कृति, परम्परा र पहिचानलाई परै राखेर भूगोललाई मात्रै काँठको मानक बनाउने हो भने त काँठ मृत भइसकेको घोषणा गर्नमात्रै बाँकी रहेको बताउँछन् आख्यानकार विश्व कुइँकेल । काठमाडौंको थलीमा हुर्किएका कुइँकेल आफैंमा काँठको त्यो पुस्ता हुन्, जो हिजो गोबर र माटोले लिपेको घरमा पनि बस्यो । जसले अहिलेको सुविधासम्पन्न आधुनिक सुविधाहरु पनि उपभोग गर्‍यो ।

परालको कुन्यू राख्ने, भकारो सोहर्ने, मही पार्ने पुस्ताको प्रतिनिधि पात्र हुन् कुइँकेल । सँगै आजको भौतिक सुविधा पनि उपभोग गरिरहेको पुस्ता हो । ग्रामीण जीवन बाँचेर आएका बुवाआमाको हेरचाह गर्ने पुस्ताका कुइँकेल सुविधा सम्पन्न जीवन खोज्दै युरोप, अमेरिका हान्निइरहेका छोराछोरीलाई एयरपोर्टमा बिदाइ गर्ने पनि कुइँकेलको पुस्ता हो । उनी त आफूलाई स्याण्डविच पुस्ता भनेर सीधै भन्छन् ।

कुइँकेल भन्छन्, ‘यस्तो अनुभव थोरै मान्छेमा मात्रै हुन्छ । त्यो मान्छेमध्ये एक हुँ म ।’

अहिले त परालको कुन्यू थुप्रिने थलीका खेतहरुमा अजंग अजंगका घरहरु उम्रिएका छन् । छेवैमा भव्य सुविधा सम्पन्न गोकर्ण रिसोर्ट छ । कुइँकेलको आँखामा भने थलीको चित्र नै गाउँ नै गाउँको आउँछ । तर, अहिले त उनी आफैं घर जाने बाटो भुलिएला कि भनेर सचेत हुँदै हिँड्छन् ।

‘भूईं लिपेको घर सायदै भेटिन्छन् । पहिला पहिला हरेक टोलको नाम हुन्थे । खेतहरुको नाम हुन्थ्यो । डोलहरुको नाम हुन्थ्यो । छडुवाल, खरानीटार जस्ता नाम हुन्थे डोलहरुका’, कुइँकेल भन्छन्, ‘अहिले बसाइँ सरेर आउनुभएकाहरुलाई ती नाम याद हुने कुरा त भएन । बरु कोही नयाँ आगन्तुकले नयाँ नाम ‘संगम टोल’ कहाँ पर्छ भनेर सोध्नुहुन्छ ।’

कुइँकेल प्रशासक हुन् । प्यासनले लेखक । उनी काँठका यिनै हिजो र आजका चरित्रहरु मसिनो गरी लेख्छन् । केही समयअघि कथा संग्रह ‘सुगन्धपुर’ बजारमा ल्याए । ‘सुगन्धपुर’मा तिनै काँठका कथाहरु थिए । कथा संग्रहमा सुदूरपश्चिमका कथाहरु पनि छन् ।

निजामती कर्मचारी भएकाले सुदूरपश्चिमको दार्चुलामा लामो समय बसे । त्यहाँबाट पनि कथा टिपेर ल्याए । ‘सुगन्धपुर’मा कथा थपे । सुदूरपश्चिमका अन्य जिल्लाहरुमा गए, त्यताबाट पनि कथा नै टिपेर ल्याए ।

लेख्न त पहिला पनि लेख्थे । अझै पनि उनको बुक केसमा पुराना कागजपत्रहरु भेटिन्छन् । जहाँ किशोरकालमा लेखिएका कथा, उपन्यासका खाकाहरु छन् । तर, २०५७ सालबाट जागिरे जीवन सुरु गरेपछि भने लेखनलाई एक हिसाबले रोके । तर, पछिल्लो समय कथा संग्रह ल्याए । अब उपन्यास ‘गोपीचा’ ल्याउने अन्तिम तयारीमा छन् ।

तर, जहाँ जुन ठाउँ पुगे पनि उनको लेखन भने अधिकजसो काँठकै वरिपरि घुम्छ । त्यसका लागि भने कुइँकेलको संवेदनामा भने छुने विषयवस्तु हुनुपर्छ । कुइँकेल भन्छन्, ‘कुनै घटना यस्ता हुन्छन्, जसले साह्रै भित्रसम्म घोचिदिन्छन् । दार्चुलामा जिल्ला प्रशासनमा कार्यरत हुँदा एकजना नपुंसकता भएको व्यक्ति अपांगताको परिचयपत्र बनाउन आउनुभयो । उहाँ जन्मँदा त त्यस्तो थिएन । तर, पछि त्यस्तो भएछ । मैले सोचें, ऊ कोही मान्छेसँग प्रेममा पर्नसक्छ, त्यतिखेर उसको अवस्था के हुन्छ ? अनि कथा यही विषयमा लेखें । काँठको विषयमा पनि मैले लेख्ने यस्तै विषय हुन्, जसले मलाई गहिरो गरी पिन्च गर्नुपर्छ ।’

कुइँकेल कहिलेकाहीं आफू लेखक हो या प्रशासक त्यो पनि बिर्सिदिन्छन् । संवेदनाका कारण कतिपय अवस्थामा विधि र प्रक्रियाको कुरामा लचकदार भइदिन्छन् । लेखक र प्रशासकको चरित्र कहिलेकाहीं एक ठाउँमा आइदिने परिस्थितिको पनि सामना गर्छन् । तर, लेख्न बस्दा भने विशुद्ध लेखककै अवतारमा रहने गरेको कुइँकेल बताउँछन् ।

अहिले कुइँकेलले उपन्यासमा राणाकालको उत्तरार्द्धतिर घटेको एकल जातीय उत्पीदन र प्रजातान्त्रिक गतिविधिमा चुपचाप उठाइएको आन्दोलनको कथालाई मूल विषयवस्तु बनाएका छन् । एक गोपीचा नामका दलित योद्धाले प्रजातन्त्र प्राप्त गर्न गरेको योगदानलाई उपन्यासमा समेटेका छन् । जसले नख्खु कारागारबाट गणेशमान सिंहलाई जेल तोडेर भाग्न सहयोग गरेका थिए । भलै त्यो सफल हुन सकेन ।

उपन्यास गोपीचाको भए पनि कुइँकेलको लेखनमा काँठ त जोडिने नै भयो । सँगै काँठलाई हेर्ने नजरियालाई लिएर कुइँकेलका धेरै प्रश्न र गुनासाहरु पनि छन् । नेवारी शब्द ‘दाँ याने कि पैसा र छें याने कि घर’बाट नामांकृत डाँछी वा कीर्तिपुर क्षेत्रमा पर्ने झुलनगर वा काँठका विभिन्न भूभागमा जग्गा प्लटिङ वा इँटा बनाउने प्रयोजनका लागि जमिन खन्दा फेला परेका पुराना संरचना, तिनको अभिलेखीकरण त के खोजीसम्म नभएकोमा कुइँकेलको गुनासो छ ।

कुइँकेललाई लाग्छ, काँठ मरिसक्यो भनेर मान्छेले सतही विश्लेषण गरिरहेका छन् । तर, काँठ अझै पनि जीवितै छ । गोकर्ण क्षेत्रमा अझै पनि मृत्यु संस्कारमा शंख बजाइँदैन । उपत्यकाका धेरै ठाउँमा शिव वाहन गोरु नारेर खेत जोतिँदैन । तर, अधिकांश खेत घरहरुले बाँकी छैनन् ।

कुइँकेल भन्छन्, ‘परिवर्तन स्वाभाविक हो । तर, परिवर्तनलाई व्यवस्थित पनि गर्नुपर्छ । अहिले ससानो जग्गामा घरहरु बने । पिउने पानी, फोहरमैला व्यवस्थापनमा समस्या भइरहेको छ । दमकल, एम्बुलेन्स पुग्न समस्या छ । रुखहरु मासिएका छन् । जलवायु परिवर्तनको समस्या छ । परिवर्तन स्वाभाविक भए पनि अव्यवस्थित तरिकाले भयो भन्ने मेरो गुनासो हो ।’

कुइँकेल आफैं प्रशासक हुन् । तर, उनैलाई लाग्छ, हामीले विकासको लङटर्म पोलिसी बनाउन सकेनौं । नेपाललाई समृद्ध राष्ट्र बनाउनेबारे छलफल गर्दैगर्दा हामीले हाम्रो सम्भाव्यता पनि हेर्नुपर्छ । अरु राष्ट्रलाई हेरेर विकासको मोडेल बनाउने होइन ।

भन्छन्, ‘हामीले त कृषि, पर्यटन र जलविद्युतमा मुख्य लगानी गरेर अगाडि बढ्नुपर्थ्यो । तर, हामी विकासको नाममा अनेक कुरामा अलमलिएका छौं । नीति बनाउने राजनीतिज्ञले हो । यत्रा सांसद छन् । तर, उनीहरु आन्दोलन र नाराबाजीमा मात्रै केन्द्रित छन् । व्यक्तिगत फाइदामा मात्रै सक्रिय छन् ।’

काँठकै कुरा गर्दा पनि ‘काँठ मरिसक्यो’ भनेर काँठको संस्कृति र परम्परालाई कुल्चिन खोजेकोप्रति पनि कुइँकेलको गुनासो छ । काँठ क्षेत्रमा जति पनि धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा छन्, ती सबै नदी प्रणालीसँग जोडिएका छन् । बाघद्वारदेखि चोभारसम्म मात्रै ८७ वटा तीर्थस्थल छन् । हत्यामोचन, कालमोचन जस्ता घाट छन् । मन्दिरसँग जोडिएका जीवनशैली र पद्धतिहरु छन् ।

अहिले पनि यी कुरा जीवित नै छन् । सिर्फ संरक्षणको खाँचो छ । लेखनको माध्यमबाट होस् या अन्य माध्यमबाट प्रचारको खाँचो रहेको कुइँकेलको तर्क छ ।

कुइँकेल भन्छन्, ‘हिजोदेखि चलिआएको शाली नदीमा स्वस्थानी व्रतकथा सुन्ने परम्परा अहिले विस्तृतीकरण भएको छ । बसाइ सरेर आउनुभएकाहरु पनि त्यहाँ जोडिनुभएको छ । उहाँहरुका कारण काँठलाई असर पुगेको छैन । बरु संस्कृतिको सहकार्य भएको छ । दुःख, पीडालाई व्यक्त गर्ने काँठको आफ्नै शैली र भाकाहरु छन् । यी कुराको समष्टि नै काँठ हो । तर, अहिल्यै काँठ मरिसकेको भन्न मिल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *