माओवादी गुट उपगुटमै अल्झियो, प्रचण्ड हुँदा पार्टी चल्छ त्यसपछि हिम्मत कसको ? – Nepal Press
माओवादी बैठक

माओवादी गुट उपगुटमै अल्झियो, प्रचण्ड हुँदा पार्टी चल्छ त्यसपछि हिम्मत कसको ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकको दोस्रो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भयो ।

बिहीबारको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ५६ जनाले आफ्नो धारणा राखेको पार्टी उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार बैठकमा झंकर साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लुहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दिलिपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराज यादव, दिपेन्द्र पुन, हरिनारायण चौधरी दिलिप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदिप आचार्य, सुरेश आलेमगर, भगतबहादुर बडुवाल, किर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरी पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, निलकण्ठ तिवारी, बिशाल खड्काले धारणा रोख ।

त्यस्तै, आइपी खरेल, नरेन्द्र न्यौपाने, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, बिमला सुवेदी, सन्तोस बिष्ट, टेकबहादुर बस्ने, नरबहादुर बिष्ट, दुर्गाकुमारी बिक, प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिबकुमार डाँगी, बीरबहादुर रावल, जगत सिम्खडा, विजय भण्डारी, दलजित श्रीपाली, रणेन्द्र बराइली, विष्णु विक, परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बु्ढा, बिमल अधिकारी र गोम्बु शेर्माले पनि आफ्नो कुरा राखेको महराले बताए ।

कसले के भने ?

बैठकमा सबैभन्दा पहिले केन्द्रीय सदस्य झंकर साउदले धारणा राख्दै सरकार भएको अनुभूति नभएको बताए । उनले गुटका आधारमा नेता कार्यकर्ताको मूल्यांकन भइरहेको गुनासो गरे । दोस्रोमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले संसद र माओवादी एकै ठाउँमा नहुने बताए ।

उनले पार्टी ओरालो लाग्नुको मुख्य कारण सैद्धान्तिक रुपमा समस्या देखिएको भन्दै ओरालो लागेको कम्युनिष्ट फेदमा नपुगेर उकालो नलाग्ने तर्क गरे । उनले शान्तिपूर्ण प्रतिस्पर्धात्मक लाइन बदनाम भएको उनको धारणा थियो ।

केन्द्रीय सदस्य मणिकुमार साम्पाङले नेता कार्यकर्ताको मूल्यांकन बिधि नभएको बताए । उनले नेता कार्यकर्ताले निर्वाचन लड्ने हैसियत बनाए पुग्ने बताए ।

अर्का केन्द्रीय सदस्य ओमप्रकाश पुनले पार्टीका निर्णय तथा काम संस्थागत नभएपछि स्वार्थी समूह जन्मिदै गएको बताए । उनले सदन, सडकबाट प्रतिवादन नपुगेको बताउदैँ राजकीय व्यवस्थाले नयाँ वर्ग जन्मिएको तर्क गरे ।

अर्का केन्द्रीय सदस्य परशुराम रम्तेलले पार्टी प्रणालीमा नलचेको भन्दै नेतृत्वको आलोचना गरे । केन्द्रीय सदस्य नरबहादुर बिष्टले पार्टीबाट मन्त्री बनेको नेतृत्वले कसरी जनस्तरलाई सेवा दिए त्यसको समिक्षा हुनुपर्ने माग गर्दै त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड तीन दिन रोल्पामा बस्न तयार हुनुपर्ने बताए ।

उनले भने, ‘अहिलेको तरिकाले कुनै पनि हालतमा समाजवाद आउदैँन । प्रचण्ड हुदाँ यो पार्टी चल्छ त्यसपछि कसको हिम्मत छ ? त्यसैले पदाधिकारीले आत्मालोचना गर्नुस ।’ उनले राजकीय पदमा गएको नेतृत्वले दलाललाई समय दिए पनि नेता कार्यकर्तालाई भने समय नदिने गरेको गुनासो गरे ।

अर्का केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले माओवादी पार्टी लथालिंग र भताभुंग अवस्थामा पुगेको बताउदैँ आफुहरु आशा र निराशाको दोसाधमा रहेको बताए । केन्द्रीय सदस्य लक्ष्मी पुनले भष्ट्रचार विरुद्ध सरकार निर्मम हुनुपर्ने भन्दै सरकारको कामले माओवादीलाई २०६३ सालतिर फर्किन्छ भन्ने आशा जगाएको बताईन । तर उनले नेतृत्व पुस्तान्तरण आवश्यक रहेकोमा जोड दिईन ।

केन्द्रीय सदस्य शिबकुमार डाँगीले पार्टीका नेता उत्पादनतिर भन्दा बिचौलियाको भूमिका बढी निर्वाह गरिरहेको टिप्पणी गर्दै नेता तथा कार्यकर्तासँगै नेतृत्व बिचारमा नै विग्रीएको दाबी गरे । उनले नेकपा (एमाले)सँगको एकताको समिक्षा आवश्यक रहेकोमा पनि जोड दिए ।

अर्का केन्द्रीय सदस्य जगत सिम्खडाले पार्टी गुट उपगुटमै अल्झिएको बताए । उनले प्रचण्ड सबै कुरामा सफल भए पनि संगठन असफल भएको बताए ।

केन्द्रीय सदस्य विजय भण्डारीले कुरा गर्नेलाई चार रोटी तर काम गर्नेलाई दुई रोटी दिने गरेको भन्दै व्यग्य गरे । उनले नेतृत्वको वरीपरि घुम्नेलाई टिपेर नेतृत्व दिने र राजकीय पदमा पठाउने गरेको बताए । अर्का केन्द्रीय सदस्य दलजित श्रीपालीले पार्टी विग्रार्ने पहिलो लियरको नेता भएको बताए । उनले आधारभूत वर्गलाई छोड्न नहुने तर्क गरे ।

केन्द्रीय सदस्य भवगत भडुवालले पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन धरातलतिर फर्किन खोजेको जस्तो भएको भन्दै दुई महिना अभियानको समिक्षा गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य किर्तिबहादुर पुनले समाजवादमा पुग्न निर्वाचनबाट सम्भव नभएको भन्दै पार्टी तलबाट नबिग्रीएको भन्दै माथिबाटै विग्रीएको दाबी गरे ।

केन्द्रीय सदस्य नगेन्द्र राईले पार्टी अध्यक्षको प्रतिवेदनमा आर्थिक रुपान्तरण आएको भए पनि सामाजिक रुपान्तरणबारे पनि प्रतिवेदनले बोल्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य प्रकाश पोखरेलले नेतृत्वको भनाई र गराइ, चित्र र चरित्रविच अन्तरविरोध रहेको बताए ।

अर्का केन्द्रीय सदस्य हरिराज अधिकारीले शान्ति प्रक्रियाको बाँकी काम सक्नुपर्ने बताए । केन्द्रीय सदस्य शिवराम यादवले पेरिसडाडाबाट नचल्दासम्म पार्टी नबन्ने भन्दै प्रचण्ड राजनीतिक रुपमा निपुर्ण भए पनि सांगठनिक रुपमा उदार भएको बताए । केन्द्रीय सदस्य हरिनारायण साहले जे बोल्छौ त्यो गदैनौ र जे बोल्दैनौ त्यो गरिरहेको बताए ।

पार्टी उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले भने पार्टी बनाउने वा विघटन गर्ने अवस्थामा पुगेको बताए । उनले जनतामा परेको प्रभावलाई पुँजीकरण गर्न नसकिएको बताए ।

नेता कार्यकर्ता शहरमुखी भएकाले माओवादी बिग्रीएको बताए । उनले भने, ‘शहरमूखी भएकाले माओवादी विग्रेको हो । गाउँ फर्किन हामी तयार छौ वा छैनाै पार्टीको भविष्य त्यसैमा छ । त्यसैले हामी जनतामै गएर सच्चिनुपर्छ ।’

बैठकमा सहभागिले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बिहीबार स्थगित केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । उक्त बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् ।

दोस्रो दिनको बैठक सकिसक्दा पनि पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यलाई बाडिएको छैन । प्रतिवेदन अधुरै रहेको भन्दै पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदन नबाडिएको जनाइएको छ ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी भएका छन् ।

पहिलो दिन १८ जना केन्द्रीय सदस्ले आफ्नो धारणा राखेका थिए । पहिलो दिनको बैठकमा कृष्ण केसी, ओम शर्मा, हिमाल शर्मा, लक्ष्यराम आचार्य, लोकेन्द्र लम्साल, टिका बुढाथोकी, रामकुमारी चौधरी, गोविन्द रोका ‘सचिन’, विसेन्द्र चेमजोङ, पुष्पविक्रम मल्ल, सुरेन्द्र बस्नेत, कृष्णकुमार चौधरी, रविन्द्र श्रेष्ठ, धनजीत शाहीसहित १८ जनाले आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर