ज्याला बढाउन माग राख्दै विराटनगरमा मजदुरकाे प्रदर्शन – Nepal Press

ज्याला बढाउन माग राख्दै विराटनगरमा मजदुरकाे प्रदर्शन

विराटनगर । मजदुरको मासिक ज्याला २५ हजार पुर्‍याउन माग गर्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । कोशी प्रदेशका विभिन्न ट्रेड युनियन आवद्ध श्रमिक सङ्गठनको नेतृत्वमा आन्दोलन सुरु भएको हो ।

लामो समयदेखि श्रमिकको ज्याला वृद्धि नभएको भन्दै विभिन्न ट्रेड युनियनहरूले आन्दोलन अगाडि बढाएका छन् । उनीहरूले बिहीबार विराटनगरमा शक्ति प्रदर्शन गरे ।

ठूला तीन राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट मजदुर सङ्गठनहरूले सरकार र उद्योगीलाई समय साक्षेप ज्याला बढाउन माग गर्दै विराटनगरमा प्रदर्शन गरेका हुन् । उनीहरुले न्यूनतम ज्याला मासिक २५ हजार रुपैयाँ हुनुपर्ने माग राखेका छन् ।

‘मजदुरको न्यूनतम तलब २५ हजार हुनुपर्ने माग हामीले गर्दै आएका छौं’, जिफन्ट कोशीका अध्यक्ष किशोर धमलाले भने, ‘हरेक दुईदुई वर्षमा वृद्धि हुनुपर्ने मजदुरको तलब लामो समयदेखि बढेको छैन ।’

सरकारले प्रत्येक दुई वर्षमा मजदुरको तलब बढाउने श्रम ऐनमा व्यवस्था छ । अहिले मजदुरले न्यूनतम तलब करिब १४ हजार पाउँदै आएका छन् ।
ट्रेड युनियनहरूले यसअघि विभिन्न सरकारी निकायहरूमा मजदुरको तलब वृद्धिको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तलब बढाउने बारेमा अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), नेपाल कारखाना श्रमिक सङ्घ, अखिल नेपाल औद्योगिक मजदुर सङ्घ, समग्र उद्योग ट्रेड युनियनहरूको अगुवाइमा भएको आन्दोलनका सहभागीहरूले मजदुरको अधिकार खोसिएको, मजदुरहरू एक हुनुपर्नेलगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर