राजीनामा दिएर चर्चामा आएका वडाअध्यक्ष डेढ महिनामा फर्किए काममा – Nepal Press

राजीनामा दिएर चर्चामा आएका वडाअध्यक्ष डेढ महिनामा फर्किए काममा

रुपन्देही । डेढ महिनाअघि आफ्नै पार्टीबाट नगर प्रमुख जितेका मेयर तथा उपमेयरले बनाएको बजेटमा असन्तुष्टि जनाउँदै वडाअध्यक्षबाट राजीनामा बुझाएर चर्चामा आएका दाङको घोराहीका एक वडाअध्यक्ष डेढ महिनामा पुनः काममा फर्किएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं ८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका हुन् । उनले बिहीबारबाट काम थालेका हुन् । अध्यक्ष पदबाट राजीनामा दिएको करिब डेढ महिनापछि पुनः काममा फर्किएका हुन् । घोराहीका मेयर नरुलाल चौधरी उपमेयर हुमाकुमारी डिसी तथा वडाध्यक्ष शाह सबै नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

वडामा पर्याप्त बजेट नछुट्याएको भन्दै उनले असार १० गत पदबाट राजीनामा बुझाएको घोषणा गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । राजीनामा बुझाएर केही समय काठमाण्डौंमा बसे । उनले अघिल्लो आर्थिक वर्षमा पनि राजीनामा दिएको भन्दै प्रचार गरेका थिए ।

घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले वडाध्यक्ष शाह बिहीबारबाट काममा फर्केको बताए । ‘समस्या केही थिएन, भावनामा आएर राजीनामा दिनुभयो, सबै विषय बुझेर काममा फर्कनुभयो, नेतृत्व तहमा बस्नेले एकछिन सोँच विचार गरेर आफ्नो धारणा बाहिर ल्याउनुपर्दछ’, उनले भने ।

काममा फर्केका वडाध्यक्ष शाहले आफूले उठाएका माग पूरा गर्ने नगर प्रमुखको प्रतिवद्धतापछि काममा फर्केको बताए ।

‘केही असहमति थिए ती काम पूरा गर्ने सहमतिमा काममा फर्कें, अन्य खर्च काटेर विकास बजेट बनाउने मेरो माग हो, स्कुललाई बजेट थपौ भन्ने हो, हेरौं मेयरले सहमति जनाउनुभएको छ, अनि काममा फर्केको हुँ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *