माओवादी बैठक- पार्टी नेतृत्वको कार्यशौलीमा प्रश्नैप्रश्न, भ्रष्टाचारविरोधी सरकारको कदमलाई साथ – Nepal Press

माओवादी बैठक- पार्टी नेतृत्वको कार्यशौलीमा प्रश्नैप्रश्न, भ्रष्टाचारविरोधी सरकारको कदमलाई साथ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समितिको बैठकमा नेताहरुको कार्यशैली परिवर्तन नगरी पार्टी रुपान्तरण सम्भव नभएको केन्द्रीय सदस्य शिवकुमार मण्डलले बताए ।

उनले भने, ‘सबैको चिन्ता भनेको पार्टी सशक्त बनाउने कुरामा नै छ । पार्टी नेतृत्वसहितको रुपान्तरण र कार्यशैली सुधार गर्नुपर्ने कुरामा अधिकांश नेताहरुको सुझाव छ । नेतृत्व तहमा पुगेका नेताहरुमा परिवारवाद देखियो । स्वकिय सचिवलगायतको नियुक्तिमा आफन्तहरुलाई भन्दा पनि कार्यकर्तालाई समेट्नुपर्छ ।’

बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनेदेखि घाइते अपांगहरुको व्यवस्थापनलगायतको विषयमा पनि नेताहरुले धारणा राखेको सुनाए ।

उनले भने, ‘सरकारले भ्रष्टाचारविरोधी अभियान थालेपछि पार्टी नयाँ ढंगले अगाडि बढाउने मुहान भेटेका छौं, यसलाई कुनै प्रकारको हस्तक्षेप नगरी अघि बढ्नुपर्छ । हाम्रो पार्टीभित्र त्यस्ता व्यक्ति छन् भने कठोर भएर कारबाही गर्नुपर्छ, धेरै उदार भएर चल्ने अवस्था छैन । यो विषयमा प्रधानमन्त्रीलाई सबैको सुझाव र साथ छ ।’

पार्टी ओरालो लागिरहेकाले जनता र पार्टीको सुमधुर सम्बन्ध पूरा गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘संविधान जारी भएपछि हामीले उठाएका केही विषय अझै सम्बोधन हुन सकेको छैन । त्यसैले बाँकी एजेण्डा पूरा गर्न फेरि एकजुट हुनुपर्छ । पार्टी फुट र विभाजनको कारणले कमजोर भएका छौं । वामपन्थी एकताको साथै आन्तरिक अन्तरविरोधलाई अन्त्य गरेर अघि बढ्नुपर्छ ।’

पार्टीलाई नीति र विधिको आधारमा अगाडि बढाउनुपर्ने अधिकांश नेताहरुको सुझाव रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर