कारागारका कैदीबन्दीमा ज्वरोको समस्या – Nepal Press

कारागारका कैदीबन्दीमा ज्वरोको समस्या

काठमाडौं । कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको  समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो ।

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उनका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो सङ्क्रमण बढ्ने उनको भनाइ छ ।

भाइरल फिवरसँगै गर्मी समयमा छालामा लाग्ने दाज र ढुसीका कारण हुने समस्या देखिएको उनले बताए । उनले भने, ‘छालाको समस्याका बिरामीको सङ्ख्या एक सय ५० जनाभन्दा बढिरहेका छन् ।’

कारागारमा सङ्क्रमण फैलन नदिनका लागि आफूहरुले उच्च सतर्कता अपनाएको उनले जानकारी दिए । रोगको सङ्क्रमण फैलन नदिनका लागि रोगको रोकथामका लागि स्वास्थ्य शिक्षा र व्यक्तिगत सरसफाइमा ध्यान दिन लगाइएको उनले बताए ।

पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा अहिले ५० र दुई सय ५५ जनाको क्षमता रहेको पुरुषबन्दी गृहमा सात सय २९ जना रहेका छन् । उनीहरुसँग आश्रित तीन जना बालबालिका रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *