शिव परियारको फेक आईडी बनाएर ‘स्क्याम’- दिए कानूनी बाटो रोज्ने चेतावनी – Nepal Press

शिव परियारको फेक आईडी बनाएर ‘स्क्याम’- दिए कानूनी बाटो रोज्ने चेतावनी

काठमाडौं । आफ्नो नामको फेक आइडी बनाई आफ्ना पुराना लाइभ भिडिओहरु दुरुपयोग गरेको बताउँदै गायक शिव परियारले त्यस्ता ठगी धन्दाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

विगत दुई दिनदेखि फेसबुकमा आफ्नो नामको स्क्याम चलाइरहेको उल्लेख गर्दै उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक विज्ञप्ति जारी गरेका हुन् ।

उनले आफ्नो नाम र भिडिओ दुरुपयोग गरेर ‘स्क्याम’ गरिएको जानकारी गराउँदै त्यस्ता कार्यविरुद्ध कानूनी उपचारमा जाने बताएका छन् ।

उनले कलाकारका नाममा फेक आइडी बनाएर कलाकारकै फोटो र भिडिओ दुरुपयोग गरेको देखेमा त्यस्ता अकाउण्टलाई रिपोर्ट गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘कलाकारका नाममा फेक आईडी बनाई स्क्याम चलाईरहेको भेट्नु भयो भने कृपया त्यस्ता अकाउण्टका सामाग्री शेयर नगर्नुहोस् । बरु त्यस्ता अकाउण्टलाई रिपोर्ट गरेर बन्द गर्नुहोस् । पैसाको बिटो देखेर हतार–हतार कमेण्ट गर्ने र लिंक ज्वाईन गर्दा यसको असर प्रत्यक्ष रुपमा तपाँईलाई पर्न सक्ने छ ।’

उनले भेरिफाइड एकाउन्टको दायाँ साईडमा निलो टिक चिन्ह हुने कुरा पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पछिल्लो केही दिनदेखि शिवको नाममा नक्कली फेसबुक आइडी खोली लाइभ गर्ने क्रम चलिरहेको छ । उक्त लाईभ भिडिओको एकातिर पैसाको बिटो राखिएको देखाइएको छ भने अर्कोतिर शिव बोल्दै गरेको देखाईएको छ । ‘मेरो नामको फेक अकाउन्ट खोली मेरै पुरानो लाईभ भिडियो ब्लेन्ड गरेर मसँग सम्बन्धित नभएको कार्य चलाइएको छ्र । जसमा म घोर बिरोध र भ्रत्सना गर्दछु’, उनले जोडेका छन् ।

उनले आफ्नो फेक अकाउन्टको दुरुपयोग गर्ने व्यक्तिले समयमै शो कार्य बन्द नगरे कानुनी बाटो रोज्ने चेतावनी समेत दिएका छन् । उनले भनेका छन्, ‘ठगहरु हो यो कार्य तुरुन्त बन्द गर । अन्यथा कानूनी बाटो रोज्न बाध्य हुनेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर