महिलालाई मात्रै सार्वजनिक बसबाट रवि लामिछानेले भोटको राजनीति गरे : शंकर पोखरेल – Nepal Press

महिलालाई मात्रै सार्वजनिक बसबाट रवि लामिछानेले भोटको राजनीति गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भोटको राजनीति गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा चितवन २ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले सुरू गरेको महिलालक्षित बसप्र५ि उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वाभाविक हो । नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।’

पञ्चायतकालमा आफू विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ । नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं ।’

चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्नेमा सचेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर