कर्णाली सरकारले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सञ्चालनका लागि संघसँग माग्यो सहयोग – Nepal Press

कर्णाली सरकारले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सञ्चालनका लागि संघसँग माग्यो सहयोग

सुर्खेत । कर्णाली प्रदेशमा पशुपन्छी रोग अन्वेषण सञ्चालनका लागि सरकारले संघसँग सहयोग मागेको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले संघीय मन्त्री वेदुराम भुसालसँग भेट गर्दै प्रयोगशाला सञ्चालनका लागि सहयोग माग गरेका हुन् ।

भेटमा प्रयोगशाला सञ्चालन तथा लम्पीस्कीन रोग महामारी नियन्त्रणको लागि ध्यानाकर्षण पनि गराएका छन् ।

लम्पीस्कीन कर्णालीमा नियन्त्रण भन्दाबाहिर जान थालेकोले प्रयोगशाला बन्द हुनु दुःखद भएको शर्माले संघीय मन्त्रीलाई बताए ।

उनले प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

केहीदिन अगाडी मात्रै अर्थ मन्त्रालयले प्रयोगशालामा कुनै पनि किसिमको आर्थिक क्रियाकलाप नगर्न परिपत्र जारी गरेको थियो ।

त्यसपछि विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सूचना जारी गर्दै साउन १५ गतेदेखि सेवा प्रवाह गर्न नसकिने सूचना जारी गरेका थिए ।

छलफल सकारात्मक भएको र प्रयोगशाला सञ्चालनका लागि संघीय सरकारले बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको मन्त्री शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *