बर्दियामा नेकपा एसको सिंगो मधुवन नगर कमिटी फर्कियो एमालेमा – Nepal Press

बर्दियामा नेकपा एसको सिंगो मधुवन नगर कमिटी फर्कियो एमालेमा

रुपन्देही । बर्दियाको नेकपा एकीकृत समाजवादीको सिंगो मधुवन नगर कमिटी एमालेमै फर्किएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले सत्ता केन्द्रित र पूर्वाग्रह प्रेरित गठबन्धन बनाएर कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउने काम गरेको भन्दै नगर कमिटी एमालेमै फर्किएको हो ।

नेकपा एकीकृत समाजवादीको मधुवन नगर कमिटीका अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमालसँगै जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी र सदस्यहरू सबै जनाले सामूहिक रुपमा एकीकृत समाजवादी परित्याग गरी एमालेमा फर्किएको घोषणा गरेका छन् ।

मधुवनमा आयोजित एक समारोहबीच उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेशका एमाले संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री लीला गिरीले पार्टीमा स्वागत गरेका थिए । उनले नेता कार्यकर्ताहरुलाई उचित जिम्मेवारी र अवसर प्रदान गर्न मातहतका पार्टी कमिटीमा निर्णय गरिने जनाए ।

नेता गिरीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य र संकल्प साकार पार्न एमालेकै नेतृत्व जरुरी रहेको उल्लेख गरे । मुलुकको बृहत्तर हित र जनताको अवस्थामा परिवर्तन ल्याउन पनि एमालेको नेतृत्वमा तीनै तहमा सरकार हुनुपर्ने नेता गिरीको जोड थियो ।

पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममै समाजवादीको नगर कमिटी एमालेमा समाहित भएको थियो । एमालेले बर्दियाका विभिन्न ठाउँमा पार्टी सुदृढीकरण तथा घर फर्क अभियान सञ्चालन गरेको छ । सोही क्रममा बर्दियाका विभिन्न ठाउँमा विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने क्रम तीब्र भएको छ ।

आफूले मेहनत गरेर बनाएको पार्टीमा फर्कन पाउँदा हर्षित भएको बताउँदै अध्यक्ष रिमालले नगर कमिटीको अत्यधिक बहुमतले निर्णय गरेर नगरको सिंगो पार्टी नै नेकपा एमालेमा फर्किएको घोषणा गरे ।

त्यसैगरी बर्दियाकै राजापुर नगरपालिकामा भएको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीबाट जिल्ला कमिटी सचिवालय सदस्य जयबहादुर शाहु, जिल्ला कमिटी सदस्य घनश्याम थारू र कृष्ण शर्मा पनि एमालेमै फर्किएका छन् । त्यसैगरी २०७४ मा वडाध्यक्ष रहेका फुलाराम थारू नेकपा माओवादी परित्याग गरी पुनः एमालेमै फर्किएका छन् ।

बर्दियामा नेकपा एमालेले साउन १५ देखि २२ गतेसम्म जिल्लाका ८ वटै पालिकामा पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर