पूर्वप्रधानसेनापतिलाई उद्धृत गर्दै कांग्रेस सांसद भण्डारीको दाबी- भारतीय दूतावासबाट नेताले पैसा लिएको रेकर्ड छ (भिडिओ) – Nepal Press

पूर्वप्रधानसेनापतिलाई उद्धृत गर्दै कांग्रेस सांसद भण्डारीको दाबी- भारतीय दूतावासबाट नेताले पैसा लिएको रेकर्ड छ (भिडिओ)

पोखरा । प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एक पूर्वप्रधानसेनापतिले नेपालका नेताहरूले भारतीय दूतावासबाट लिएको रकमको रेकर्ड नेपाली सेनासँग रहेको बताएको दाबी गरेका छन् ।

बुधबार पोखरामा गरिएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका भण्डारीले एक डिनरमा पूर्वप्रधानसेनापतिले आफूसँग उक्त खुलासा गरेको बताए । ती पूर्वसेनापतिको नाम भने उनले खुलाएनन् ।

‘मसँगको डिनरमा एक पूर्वप्रधानसेनापतिले म नाम त भन्दिन, उहाँले भारतीय दूतावासबाट हरेक नेपालका नेताले कति पैसा लिएका छन् भन्ने रेकर्ड नेपाली सेनासँग छ भन्नुभयो,’ भण्डारीले भने, ‘त्यो तपाईंहरू खोज्नुस् ।’

अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वास घट्दै गएको उनको जिकिर छ ।

भण्डारीले भने, ‘अन्तर्राष्ट्रियस्तरमा विश्वास घट्दै गएको, आन्तरिक रूपमा पनि दलहरूमा विश्वास घट्दै गएको, मुलुकलाई आर्थिक रुपमा सुधार गर्न कुनै पहलका कामहरू हामी गर्न सकेका छैनौं । त्यसकारण मुलुक धेरै संकटमा पुगेको देख्छु ।’

कांग्रेस पार्टी मूल विचारभन्दा बाहिरको बाटोमा लागेको उनको टिप्पणी छ ।

‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने मूल सैद्धान्तिक विचारको आधारमा यो पार्टी निर्माण भयो, र यो पार्टी अगाडि बढेको हो । कांग्रेस अहिले जुन ठाउँमा छ, जुन बाटोमा हिडेको छ । त्यो पार्टीको मूल विचारभन्दा बाहिर छ भन्ने मेरो स्पष्ट कुरा हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर