सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि आवेदन आव्हान, के-के छन् योग्यता ? – Nepal Press

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि आवेदन आव्हान, के-के छन् योग्यता ?

काठमाडौं । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आवेदन आव्हान भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको कोषको कार्यकारी निर्देशक पदपूर्तिका लागि मन्त्रालयले आवेदन आव्हान गरेको हो ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । ५५ वर्ष ननाघेको शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको कार्यालय बबरमहलमा निवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

सूचना अनुसार अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानून विषयमा कम्तीमा पनि स्नातकोत्तर उपाधि हासिल गरेको र सरकारी वा गैरसरकारी संघसंस्था वा प्रचलित कानूनबमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिमध्येबाट खुला प्रतियोगिताद्वारा छनोट भएका उपलब्ध भएसम्म बढीमा तीनजना छनोट गरी नियुक्तिका लागि समितिमा पेश गर्नेछ ।

छनोट भएका व्यक्तिमध्येबाट समितिले योग्यता, अनुभव, नेतृत्व गर्न सक्ने क्षमता तथा उसले पेश गरेको कोष व्यवस्थापन तथा सञ्चालनको कार्ययोजनाको मूल्यांकन गरी सबैभन्दा उपयुक्त उम्मेदवारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेछ ।

कार्यकारी निर्देशकको नियुक्ति नभएसम्म नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसरहको कुनै अधिकृतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशकको पदमा काम गर्ने गरी तोक्न वा खटाउन सक्ने व्यवस्था ऐनमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर