क्यानमा आउन कम्मर कसेका पारस – Nepal Press

क्यानमा आउन कम्मर कसेका पारस

चतुरबहादुर चन्द दोहोरिन इच्छुक, पारस केन्द्रमै लड्लान् कि बाग्मती प्रदेश अध्यक्षमा ?

काठमाडौं । एक दशक राष्ट्रिय क्रिकेट टीमको नेतृत्व गरेका पूर्वकप्तान पारस खड्का अब क्रिकेट व्यवस्थापनमा ‘इन्ट्री’ मार्ने तयारीमा छन् । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि हुने आसन्न चुनावमा उम्मेदवारी दिने उनको योजना छ ।

केही दिनभित्र आफूले उम्मेदवारीको औपचारिक घोषणा गर्ने पारसले बताए ।

‘मैले राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने बेलामा नै व्यवस्थापनमा आउने इच्छा व्यक्त गरेको थिएँ । अहिले धेरैले चासो लिएर सोधिराख्नुभएको छ । म चाँडै नै औपचारिक घोषणा गर्नेवाला छु’, उनले भने ।

खड्काले क्यानको कुन तह र पदमा उम्मेदवारी दिनेछन् भन्ने स्पष्ट भइसकेको छैन । धेरैले उनलाई केन्द्रीय अध्यक्षकै दावेदार मानिरहेका छन् । यद्यपि, अहिलेको चुनावमा उनले बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिनसक्ने चर्चा पनि छ ।

यस विषयमा प्रश्न गर्दा पारस खुल्न चाहेनन् ।

उनले भने, ‘अहिले थप केही नबोलौं । औपचारिक घोषणापछि नै सबै कुरा बताउने छु । जिल्लादेखिको संरचनाबाट आउनुपर्ने भएकाले मैले त्यसको तयारी गरिरहेको चाहिँ छु । मैले क्रिकेट संघमा आउने भनेरै क्रिकेट छोडेको हो ।’

पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । त्यसबेला उनले घरेलु क्रिकेट भने अझै खेल्नसक्ने बताएका थिए । तर, २०७७ चैतदेखि उनी घरेलु क्रिकेटमा देखिएका छैनन् ।

पारसले भने, ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएयता घरेलु क्रिकेट पनि खेलेको छैन । मेरो क्रिकेट करिअर इन्ड नै भयो भन्दा हुन्छ । फेरि फिल्डमा फर्किने सम्भावना छैन ।’

पारसले आफू क्यानको चुनावमा लड्ने संकेत गर्दै केही दिनअघि एउटा भिडिओ सन्देश जारी गरेका थिए । त्यसमा उनले क्यानको आसन्न जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन प्रक्रियामा सक्रियताका साथ सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

भिडिओ सन्देशमा उनको अभिव्यक्ति यस्तो थियोः

‘नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने हामीले जिल्लादेखि नै हाम्रो संरचना फेरबदल गर्नुपर्ने बेला आइसकेको छ । त्यसैले सबै स्टेकहोल्डरहरुलाई नेपाल क्रिकेट संघको विधान, कोड अफ कन्डक्ट लागू हुने आ(आफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुहुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’

नेपाल क्रिकेट संघको केन्द्रीय नेतृत्वमा आउन पहिले जिल्ला र प्रदेशबाट चुनिनुपर्ने प्रावधान रहेको छ । गत असार १५ गते बसेको क्यानको बोर्ड बैठकले असोज ५ र ६ गते केन्द्रीय निर्वाचन गर्ने तालिका प्रकाशन गरेको थियो । बैठकको निर्णयअनुसार साउन मसान्तसम्म जिल्ला अधिवेशन गरिसक्नु पर्नेछ भने भदौ १० गतेभित्र प्रदेश अधिवेशन हुनेछ ।

जिल्ला अधिवेशनमा हुने चुनावमा साधारण सदस्यहरुले भोट हाल्छन् । क्यानको सदस्यता लिन निश्चित मापदण्ड रहेको छ । जसअनुसार खेलाडी, अम्पायर, प्रशिक्षक, स्कोररलगायत क्रिकेटसँग प्रत्यक्ष-परोक्ष जोडिएका व्यक्तिहरुले सदस्यता लिन सक्छन् । राष्ट्रिय वा भूतपूर्व क्रिकेट खेलाडीहरु पनि सदस्य बन्न रोकावट छैन । उम्मेदवारी दिनलाई भने दुई वर्षअघि क्रिकेटबाट सन्न्यास लिएको हुनुपर्छ । पारसले सन्न्यास लिएको यही १९ गते दुई वर्ष पूरा हुन्छ । त्यसैले उनी आसन्न चुनावमा उम्मेदवार बन्न योग्य छन् ।

जिल्ला अधिवेशनले एक जना प्रतिनिधि केन्द्रका लागि र चार जना प्रतिनिधि प्रदेशका लागि निर्वाचित गरेर पठाउँछ । त्यसपछि प्रदेश अधिवेशनले जिल्लाको संख्याभन्दा आधा संख्यामा प्रतिनिधि निर्वाचत गरेर केन्द्रमा पठाउँछ । जस्तो कि कुनै प्रदेशमा ८ जिल्ला छन् भने ४ जना प्रतिनिधि उसले केन्द्रमा पठाउन सक्छ ।

केन्द्रको चुनावमा जिल्ला र प्रदेशबाट आएका प्रतिनिधि, वर्तमान केन्द्रीय कार्यसमितिका सबै सदस्य, अम्पायर संघका एक प्रतिनिधि र प्रशिक्षक संघका एक प्रतिनिधिले भोट हाल्न सक्छन् । अम्पायर र प्रशिक्षक संघका प्रतिनिधिलाई चुनाव लड्ने अधिकार भने हुँदैन । तर, केन्द्रीय कार्यसमितिका सदस्यले चाहेमा फेरि कुनै पदमा लड्न सक्छन् ।

पारसको हकमा कुरा गर्दा उनी काठमाडौं निवासी हुन् । उनले काठमाडौंबाट सदस्यता लिएर पहिले जिल्ला अधिवेशनमा भाग लिनुपर्छ । यदि जिल्लाले केन्द्रीय प्रतिनिधिमा नै उनलाई निर्वाचित गर्‍यो भने सोझै केन्द्रमा चुनाव लड्न सक्छन् । प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको खण्डमा प्रदेश अधिवेशनमा भाग लिनुपर्छ ।

प्रदेश प्रतिनिधिमा निर्वाचित भएको खण्डमा पनि पारसले केन्द्रीय चुनावमा प्रतिस्पर्धा गर्न सक्छन् । यदि होइन, यसपालि जिल्ला वा प्रदेशकै नेतृत्वमा रहन चाहे भने त्यो विकल्प पनि छ । उनले काठमाडौं जिल्ला वा बाग्मती प्रदेशको अध्यक्षलगायत कुनै पनि पदमा उम्मेदवारी दिन सक्नेछन् ।

यो त प्रक्रियागत कुरा भयो । जानकारहरुका अनुसार एकैचोटि क्यानको केन्द्रमा लडेर चुनाव जित्न त्यति सहज हुँदैन । केन्द्रको चुनावमा राजनीतिक चलखेल र गुटबन्दी पनि अत्यधिक हुने गर्छ । जिल्ला र प्रदेशदेखि काम गरेर आएकाहरुप्रति सदस्य वा मतदाताहरुको सहानुभूति बढी हुन्छ ।

क्यानका एक सदस्य भन्छन्, ‘उहाँको व्यक्तिगत लोकप्रियता छ । तर, त्यसकै बलमा मात्रै केन्द्रमा चुनाव जित्नुहोला भन्न सकिँदैन । उहाँले जिल्ला र प्रदेशमा काम गरेर आफूलाई प्रुफ गर्नुभएको छैन ।’

चतुर दोहोरिन इच्छुक, सिंहको पनि दावेदारी

क्यानमा एक व्यक्तिले दुई कार्यकाल अध्यक्ष खानसक्ने प्रावधान छ । हालका अध्यक्ष चतुरबहादुर चन्द फेरि दोहोरिन इच्छुक देखिएको स्रोत बताउँछ ।

‘उहाँले औपचारिक रुपमा त भन्नुभएको छैन । तर, बडिल्याङ्वेज हेर्दा फेरि उम्मेदवारी दिने मनस्थितिमा हुनुहुन्छ जस्तो बुझिन्छ’, स्रोतले भन्यो ।

चतुरको चार वर्षे कार्यसम्पादन त्यति सन्तोषजनक भने छैन । उनले नेपाली क्रिकेटमा कुनै पनि संरचनात्मक सुधार गर्न सकेनन् । न त घरेलु क्रिकेटलाई बलियो नै बनाउन सके । जे उपलब्धि हासिल भएका छन्, ती खेलाडीहरुकै बलमा हासिल भएका हुन् । यद्यपि, पछिल्लो समय सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउने ‘बोल्ड डिसिजन’ पछि क्रिकेट समर्थकहरुबीच उनको लोकप्रियता केही बढेको छ ।

क्यान नेतृत्वका अर्का आकांक्षी रोशन सिंह पनि हुन्, जो अहिले केन्द्रीय कोषाध्यक्ष छन् । उनले पनि औपचारिक घोषणा गरेका छैनन् । तर, निकटस्थहरुसँग उनले अध्यक्षमा चुनाव लड्ने मनस्थिति प्रकट गरिरहेको स्रोतले बताएको छ ।

पारससँग आशा

पारस खड्कालाई नेपाली क्रिकेटका सबैभन्दा ठूला ‘आइकन’ का रुपमा लिने गरिन्छ । एउटा खेलाडीका रुपमा र कप्तानका रुपमा उनले लामो समय नेपाली क्रिकेटको सेवा गरे । उनका नाममा धेरै रेकर्डहरु पनि छन् ।

पारसले आफ्नो नेतृत्व गुण राष्ट्रिय टीमको कप्तान हुँदा पर्याप्त प्रदर्शन गरेका थिए । उनलाई एसोसिएट्स राष्ट्रहरुकै उत्कृष्ट कप्तानका रुपमा लिइन्थ्यो । उनको व्यक्तित्व, निर्णय क्षमता र अभिव्यक्ति कलाको धेरै तारिफ हुने गर्थ्यो । साथै लामो समय टीमको नेतृत्व गर्दा उनी कुनै ठूलो विवादमा पनि मुछिएनन् ।

यद्यपि, आलोचकहरु पारससँग सबैलाई समेटेर लैजाने समन्वयकारी गुण कम भएको बताउँछन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेपछि पनि उनले नेपाली क्रिकेट टीमभित्र गुटबन्दी गरिरहेको आरोप क्यानका पदाधिकारीहरुले लगाएका थिए । उनले कम उमेरमै सन्न्यास लिनुमा क्यानसँगको असन्तुष्टि र असमझदारी नै मुख्य कारण थियो ।

क्रिकेट खेल्नु र यसको व्यवस्थापन सम्हाल्नु फरक फरक कुराहरु हुन् । तर, पारससँग अपेक्षा राख्न सकिने धेरै कारणहरु छन् । नेपाली क्रिकेटलाई उनले जति सायदै कसैले राम्रोसँग बुझेको होला । सायद उम्मेदवारी घोषणा गर्दा उनले आफ्ना एजेन्डाहरु पनि प्रस्तुत गर्नेछन् । कम्तिमा एकपटक क्रिकेट संघमा उनको नेतृत्व अपेक्षित छ ।


प्रतिक्रिया

2 thoughts on “क्यानमा आउन कम्मर कसेका पारस

  1. आफु भन्दा माथि अरु खेलाडी हरु को देश र विदेशमा चर्चा र नाम होला भनेर पर्दा पछाडि बसेर राजनिति र षड्यन्त्र गर्ने घटिया मान्छे हो यो ।

  2. हामी अझ भनौ सारा नेपाली क्रीकेट फ्यान पारस क्यान को नेतृत्व मा आएको हेर्न चाहन्छ तर यो नेपाल हो राम्रो र असल मान्छेले स्थान पाउन मुस्किल हुन्छ विभिन्न दाउपेच हुन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *