सेवाग्राहीसँग घुस लिने इन्जिनियर र भारतीय सर्टिफिकेटमा सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर – Nepal Press

सेवाग्राहीसँग घुस लिने इन्जिनियर र भारतीय सर्टिफिकेटमा सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपययोग अनुसन्धान आयोगको टोलीले असार २० गते उनलाई रंगेहात पक्राउ गरेको थियो । ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिका- ७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राबेल गर्ने कार्यको नापजाँचपश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादवले ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो ।

आयोगका अनुसार अनुसन्धानको सिलसिलामा इन्जिनियर यादवले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि हुन आएकोले यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा सोहीअनुसारको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

यसैगरी आयोगले सोही गाउँपालिका- १ मा सामाजिक परिचालक पदमा कार्यरत गौंस मोहम्मद तेलीको उक्त पदको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको रुपमा माध्यमिक शिक्षा परिषद्‍ उत्तर प्रदेश इलाहाबाद भारतबाट हाईस्कुल उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झूटा प्रमाणपत्र पेश गरको भन्दै कारबाहीको लागि विशेषमा मुद्दा दायर गरेको छ ।

तेलीले सामाजिक परिचालक पदमा राष्ट्रसेवक कर्मचारीको रुपमा करार नियुक्ति भै सरकारी लाभ तथा सुविधा लिएको पुष्टि भएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *