शनिबारदेखि ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउने – Nepal Press

शनिबारदेखि ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउने

काठमाडौं । नेपालको पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन यही शनिबारबाट प्रसारण हुने भएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच शोको पहिलो भागको प्रोमो सार्वजनिक गरिएको हो । दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित गेस्ट रहेका छन् ।

शो प्रत्येक शनिबार राति ८ः४५ बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटीभी) र ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण हुनेछ । पहिलो सिजनको तुलनामा अझै राम्रो र केही परिमार्जन गरिएको टीमले जनाएको छ ।

शोकी निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरञ्जन लिन सक्नेछन् । उनी भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा मेहनत पनि बढी गरेका छौं । शोमा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।’

शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेस्ट अझ विशेष भएको जानकारी गराए । उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागि कलाकारदेखि राजनीतिज्ञसँग कुरा भइरहेको जानकारी दिए ।

‘हामीले अहिलेको सिजनमा गेस्टलाई पहिले नै यतिको ब्यंग्य गर्दैछौं अथवा कार्यक्रम छायांकन भइसकेपछि पनि उहाँहरुले कुनै दृश्य नराख्नु भन्नुभयो भने सम्पादन गर्ने भएका छौं’, उनले भने ।

शोको गेस्ट म्यानेजमेन्टको काम गोपीकृष्ण चापागाईंले गरेका छन् । चापागाईंका अनुसार पहिलो सिजनभन्दा दोस्रो सिजनमा गेस्ट ल्याउन धेरै सहज भएको छ ।

‘पहिलो सिजनमा कस्तो हो भन्ने धेरैलाई थियो । पहिलो सिजनको पनि अन्तिम अन्तिममा धेरै गाह्रो थिएन । एकपटक बुझाएपछि गेस्ट आउन खोज्नुहुन्छ । किनकि हाम्रो शोको फर्म्याट नबुझेरमात्रै सुरुमा केही समय गाह्रो भएको हुनसक्छ’, चापागाईंले भने, ‘अहिलेको सिजनमा आउनुभएका गेस्ट निकै खुशी हुनुहुन्छ र छायांकन गर्न बाँकी भागका लागि पनि केही कलाकार तथा राजनीतिज्ञसँग कुरा भइसकेको छ ।’

प्रोमो सार्वजनिक कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र पत्रकार डब्बु क्षेत्री, कि एडभर्टाइजमेन्टका प्रमुख रवीन्द्रकुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी लगायत उपस्थित थिए ।

शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने वीना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन् । यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका छन् । शोको लेखनको काम सुशान्त बस्याल र विकाश अर्यालले गरेका छन् । शोको स्टाइलिस सुदेशना महर्जन हुन् । शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर