गृह प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईलाई – Nepal Press

गृह प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईलाई

काठमाडौं । गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईलाई दिएको छ । मन्त्रालयमा सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

केही दिनअघि मात्रै मन्त्रिपरिषद् बैठकले उनलाई यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयअन्तर्गत सरुवा गरेको थियो । यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएपछि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र प्रवक्ताको पद रिक्त थियो ।

भट्टराई उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र मानिन्छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले भट्टराईलाई कर्णाली प्रदेशको लोक सेवा आयोगबाट सरुवा गरेर मन्त्रालय तानेर यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । विभागको महानिर्देशकको जिम्मेवारी भट्टराईलाई दिएको एक महिनाभित्रै उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको तीन महिना बित्नेबित्तिकै सहसचिव भट्टराईको गृह मन्त्रालयमा सरुवा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर