काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापनमा भौतिक मन्त्रालय एक्लैले गर्न सक्दैनः मन्त्री ज्वाला – Nepal Press

काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापनमा भौतिक मन्त्रालय एक्लैले गर्न सक्दैनः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्दै उनले सो स्पष्टीकरण दिएका हुन् । बैठकमा सांसदहरुले गत श्रावण ७ गते सामाखुशी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए ।

जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताए । उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गरे । मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतको समस्याबाट कुनैपनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको बताए ।

मन्त्री ज्वालाले भने, ‘सडकसँग, पुलसँग अथवा हाम्रो मन्त्रालयसँग जोडिएका विपद्सँग सम्बन्धित विषयमा यो वर्षामा बाटोघाटो बन्द नहोस् । र मानवीय र अन्य क्षतिनहोस् भन्ने कुरामा हामी सचेत छौं । अरु विषयमा चाँही सम्बन्धित मन्त्रालयसँग पनि बसेर साझा निस्कर्ष निकालौं । र, जोजोले जे जे गर्नुपर्छ । हरेक कुरामा एउटैले मात्रै गर्ने देखिँदैन क्या । अब हामीले ¥यापिड बस सेवा शुरु गर्ने भन्यौं । अब त्यहाँ पनि एक्लै गरेर भएन । यातायात व्यवस्था विभागले के गर्ने, सडक विभागले अर्को गर्नुपर्ला । ट्राफिकले गर्नुपर्ला । ५/६ वटा निकायले काम बाँडफाँट गरेपछि काम अघि बढ्या छ । यो कुरामा एक्लै हाम्रो मन्त्रालय, जसको शुद्ध क्षेत्राधिकार पनि भएन । त्यसैले यही नै समाधान भनेर हामीले भन्ने अवस्था रहेन । त्यसैले समितिले यही रुपमा लिनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु ।’

मन्त्री ज्वालाले वर्षातका कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दाबी समेत गरे । उनले मुुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर