सुदूरपश्चिम सरकार विस्तारबारे ९ बजे बालुवाटारमा निर्णायक छलफल – Nepal Press

सुदूरपश्चिम सरकार विस्तारबारे ९ बजे बालुवाटारमा निर्णायक छलफल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार बारे आज शीर्ष नेताहरू बिच निर्णायक छलफल हुने भएको छ ।

अहिले ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरू बिचको छलफलले प्रदेश सरकारको गाँठो फुकाउने अपेक्षा गरिएको छ ।

विगत ७ महिना देखी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रालय मन्त्री विहीन छ भने पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि मन्त्री छैनन् ।

अहिले दुवै मन्त्रालयमा एकै दिन मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कमल बहादुर शाहको तयारी छ । तर, दलहरू बिच ठोस सहमति हुन नसक्दा सरकार विस्तार हुन नसकेको हो।

नागरिक उन्मुक्तिले २ मन्त्री र १ राज्य मन्त्रीको दाबी गरेपछि समस्या भएको थियो । केहि दिन पहिले १ मन्त्री र १ राज्य मन्त्रीमा पनि सरकारमा जान तयार भएको नागरिक उन्मुक्ति पार्टी अन्तिममा सरकारमा सहभागी भएको थिएन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले विज्ञप्ति जारी गरेर भागबन्डामा कुरा नमिल्दा तत्काल सरकारमा सहभागी नहुने जानकारी गराएकी थिइन् ।

यसैबिच हिजो माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आज बिहान ९ बजे शीर्ष नेताहरू बिच छलफल गरेर निकास दिने सहमति भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नागरिक उन्मुक्ति पार्टीका नेताले यस अघि २ मन्त्रालयमा सहमति भएको भन्दै अहिले त्यहि सहमति कार्यान्वयन गर्नु पर्ने बताएका थिए ।

प्रधानमन्त्रीले भने यस विषयमा बालुवाटार बैठकले टुङ्गो लगाउने जनाए । यस अघि सरकार विस्तार बारे छलफल गर्न भन्दै मुख्यमन्त्री सहितका मन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर