मन्त्रालयको परिपत्र बेवास्ता गर्दै पोखरा महानगर, भएनन् काजका कर्मचारी फिर्ता – Nepal Press

मन्त्रालयको परिपत्र बेवास्ता गर्दै पोखरा महानगर, भएनन् काजका कर्मचारी फिर्ता

पोखरा । पोखरा महानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र बेवास्ता गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २५ गते कोरोना महामारी नरहेको र लामो समयसम्म काजमा रहँदा स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवामा असर पर्न गएको भन्दै साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । तर, पोखरा महानगरपालिकाले काजमा कार्यरत कर्मचारीलाई हालसम्म पनि दरबन्दी भएको ठाउँमा फिर्ता पठाएको छैन ।

कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरूमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत्तत् स्थानीय तहमा मिति २०८० साउन १ गतेदेखि लागूहुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिन सबै स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको थियो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत ५७ स्वास्थ्यकर्मीको दरबन्दी अन्य ठाउँमा छ । अन्यत्र दरबन्दी भई पोखरा महानगरमा कार्यरत छन् । तर, उनीहरू अहिलेसम्म पनि महानगरमै हाजिर गरिरहेका छन् ।

३७ जना कामकाज गर्न आएको, ११ जना पदस्थापन भएर पनि नगएका र ९ जना दरबन्दीभन्दा बढी तर काममा बसेका स्वास्थ्यका कर्मचारी रहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

महानगरको गत असार २३ गते बसेको २० औँ नगर कार्यपालिका बैठकले काजमा रहेका कर्मचारीलाई नै दरबन्दी रहेको स्थानमा पदस्थापन गर्न आदेश दिइसकिएको छ । तर, हालसम्म उनीहरू दरबन्दी भएको ठाउँमा फर्किएका छैनन् ।

‘महानगरले काजका कर्मचारी कति छन् ? भनेर यकिन गरिसकेको छ, प्रक्रिया पूरा गर्दै छौँ । केही समयमा उहाँहरू फिर्ता हुनुहुन्छ,’ महानगरपालिकाका सूचना अधिकारी किरणप्रसाद कोइरालाले भने ।

काजका कर्मचारी फिर्ता गर्ने निर्णय कार्यान्वयन गर्न भन्दै मन्त्रालयले साउन ८ गते दोस्रो पटक परिपत्र गर्‍यो । कानुनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानूनी आधार नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न भन्दै मन्त्रालयले दोस्रो पटक स्थानीय तहलाई पत्राचार गरेको थियो ।

कार्यपालिकाको बैठक अनुसार दरबन्दी खुला गर्ने र भएका स्वास्थ्यका कर्मचारी दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएकोमा एउटा प्रक्रिया अघि बढेको महानगर स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

‘महानगरले निर्णय गरे अनुसार खाली भएको ठाउँमा पदपूर्ति गर्ने भनेर विज्ञापन पनि गरेको थियो । विज्ञापन खुलाएर खाली भएको ठाउँमा राख्ने र कामकाज गर्न आएका लागि दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएको थियो । त्यसमा एउटा कार्यान्वयन भयो अर्को भएन । जसले समस्या जटिल हुँदै गएको छ,’ उनले भने ।

स्वास्थ्य महाशाखा प्रमुख अर्याल पोखरा महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्थानमा लोकसेवाबाट कर्मचारी पदपूर्ति भइसकेको दाबी गर्छन् ।

‘सम्बन्धित तत् तत् ठाउँमा जान पनि लोकसेवा आयोगबाट परिपूर्ति भइसकेको अवस्था छ । उहाँहरू त्यहाँ जाँदा पनि धेरैले हाजिर गर्न पाउनुहुन्न,’ उनले भने, ‘अवस्था जटिल हुँदैछ । उहाँ जाने बित्तिकै महानगरमा स्वास्थ्य सेवामा समस्या हुन्छ ।’

‘काजका स्वास्थ्यकर्मी फिर्ता हुँदा महानगरलाई समस्या पर्छ’

महानगरको स्वास्थ्य महाशाखामा अहिले ३ सय ३४ जना कार्यरत छन् । तीमध्ये ५७ जना अन्यत्र दरबन्दी भएका छन् । मन्त्रालयले अन्यत्र दरबन्दी भएकाहरूलाई दरबन्दी भएकै ठाउँमा पठाउन निर्देशन दिइसकेको छ ।

पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख अर्यालकै दरबन्दी अर्कै ठाउँमा छ । उनी स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशबाट महानगरमा आएका हुन् । मन्त्रालयको परिपत्रअनुसार उनी पनि दरबन्दी भएकै ठाउँ स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश जानुपर्ने हुन्छ ।

५७ जना स्वास्थ्यकर्मी फिर्ता जाँदा महानगरले प्रवाह गर्ने स्वास्थ्य सेवामा समस्या हुने महानगर स्वास्थ्य महाशाखा प्रमुख अर्याल बताउँछन् ।

‘पदपूर्ति प्रक्रिया पनि रोकिने अनि फिर्ता पनि जाने गर्दा १ सय जना कर्मचारी अभाव हुँदै छ,’ अर्यालले भने, ‘कर्मचारी अभाव भएपछि नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था आउन सक्छ ।’

काजबाट दरबन्दी भएकै ठाउँमा फर्कन पनि स्वास्थ्यकर्मीलाई समस्या रहेको अर्याल सुनाउँछन् । ‘डेंगु, झाडापखलाको समयमा कर्मचारीहरूलाई रमाना दिएर पठाउँदा समस्या हुने देखिन्छ ।

अर्कोतर्फ उनीहरूको स्थानमा अरू नै स्वास्थ्यकर्मीहरू भर्ना भइसकेका छन् । पोखरा महानगरबाट रमाना बुझेर कहाँ जाने भन्ने मै अन्योल छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर