नगरलाई हरियाली बनाउन ४५ दिने सरसफाइ तथा वृक्षारोपण अभियान – Nepal Press

नगरलाई हरियाली बनाउन ४५ दिने सरसफाइ तथा वृक्षारोपण अभियान

रुपन्देही । बुटवल उपमहानगरपालिकाले ४५ दिने सरसफाइ तथा वृक्षारोपण अभियान सोमबारदेखि सुरु गरेको छ । बुटवल योगिकुटीबाट वृक्षारोपण र सरसफाइ गरी सुरु गरिएको यो अभियान अन्तरगत मुख्य सडकमा डिभाइडरमा बिरुवा रोप्ने, सडक क्षेत्रको सरसफाइ गरिने छ ।

बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रूपमा स्थापित गर्नका लागि चालु आर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरूलाई समेत उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

बुटवललाई उपयुक्त पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्ने गरी योजना अगाडि बढाएको उनले बताए । मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरू सरसफाइका लागि प्रत्येक महिना नियमित रूपमा सञ्चालन हुने बताए ।

बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तरगत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । रात्रिकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३÷३ सय बिरुवा रोपिनेछ । त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका १ सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिवार र आवश्यकताअनुसार अभियानकै रूपमा सञ्चालन हुने उनले बताइन् ।

अभियानअन्तर्गत पहिलो दिन योगीकुटीदेखि होराइजन चोकसम्म, १६ र १७ गते होराइजन चोकदेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षारोपण गरिने उपप्रमुख अर्यालले बताइन् ।

यस्तै २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण, सौन्दर्यीकरण गर्दै बाँकी क्षेत्रमा अभियान सञ्चालन गरिने छ।

सरसफाइ तथा वृक्षारोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयमसेवी संस्थाहरु, क्लबहरूलाई आह्वान गरिएअनुसार सहभागिता सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *