कहाँ छ हाम्रो शिक्षा प्रणालीमा समस्या ? – Nepal Press

कहाँ छ हाम्रो शिक्षा प्रणालीमा समस्या ?

सन् १५२५ ताका जर्मनीको एउटा प्रमुख राज्य थियो प्रसिया । त्यही प्रसियालाई अहिले हामी जर्मनी भनेर चिन्छौं । प्रसियाका राजाको सेवा गर्ने सिपाही धेरैजसो किसान थिए । दुश्मनले गोली चलाएर आक्रमण गर्दा उनीहरु भागेर घरपरिवारसँग पुग्थे । आफ्ना खेतखलियान र गोठमा लुक्थे । यस्ता सिपाहीबाट राजालाई थप भूमि कब्जा गर्दै आफ्नो साम्राज्य फैलाउन व्यवधान भयो । उनलाई ‘तँ गर या मर’ भन्ने कुरा आत्मसात गर्ने सेनाको आवश्यकता थियो । त्यस्तो सेना तयार गर्न राजाले यस्तो विद्यालय प्रणाली स्थापना गरे, जहाँ विद्यार्थीहरुले शिक्षकले भनेको कुरा खुरुखुरु मानून्, सम्मान गरुन् । पहिलो दिनबाट नै युवा विद्यार्थीहरु पोशाकमा आएर सीधा लाइनमा उभिन सिके । यस योजनाअनुसार काम गर्दा प्रसिया सैनिक शक्ति केन्द्र बन्यो । आफ्नो भूमि वा साम्राज्य विस्तार गर्न सफल भयो ।

राजाले अभिभावकलाई आफ्ना बच्चा स्कुल पठाउन आह्वान गरे । खेती किसानी सिकाउने कुरा बताए । विद्यालयमा पढ्न पनि सिकाइन्थ्यो, जोड घटाउ गर्न सामान्य गणित सिकाइन्थ्यो । राजाको खास उद्देश्य के थियो ? आज्ञाकारी/अनुशासित सिपाही तयार गर्नु वा आज्ञाकारी नागरिक, स्पष्ट ऐतिहासिक प्रमाण छैन । उनले दुबै प्राप्त गरे । यद्यपि विद्यार्थीले स्वतन्त्र ढंगले सोच्न भने सिकेनन् वा भनौं त्यस्तो मौका पाएनन् । सबै उत्तर शिक्षकसँग हुन्थ्यो । विद्यार्थीको काम भनेको मात्र शिक्षकले जे जे भन्छन्, त्यसलाई याद गर्ने, घोक्नेमात्र हुन्थ्यो ।

औद्योगिक क्रान्तिको समयमा धेरैजसो युरोपियनहरु गाउँमा बसोबास गर्थे । आफ्नै काम गर्थे । उनीहरु कोही किसान थिए, कोही पसले । कोही फलामको काम गर्ने र काठको काम गर्ने सिकर्मी थिए, कोही जस्तो अहिले नेपालका गाउँमा देखिन्छ । वाष्प इञ्जिनको आविष्कार भएपछि भने व्यापक परिवर्तन आयो । केही दशकमा नै शहरी कारखानामा वृद्धि भयो । गाउँले किसानहरु अझ राम्रो जीवनको खोजीमा खेतबारीको काम छोडेर शहर पसे । तर, उनीहरु भरपर्दा कारखाना मजदुर थिएनन् । कारखाना मालिकहरुलाई समयनिष्ठ मजदुर आवश्यक थियो । जसले खुरुखुरु आदेश पालना गरुन्, पट्यारलाग्दो कामलाई नै आफ्नो नियति ठानून् । प्रसियन शैलीका स्कुलमा यस्ता जनशक्ति यान्त्रिक रुपमा उत्पादन हुन्थे । यस्तो खालको शिक्षण पद्धति अमेरिका र युरोपतिर पनि विस्तारै फैलिँदै गयो । अहिले पनि संसारका धेरै देशमा विद्यालय जाने बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि त भएको छ । तर, त्यही प्रसियन शिक्षा प्रणालीको प्रभाव छ ।

आजभोलि केही शिक्षाविद्/शिक्षाकर्मीहरुले खेल्दै पढ्दै गर्ने विधिको अभ्यास गरेको पाइन्छ । मन्टेश्वरी विद्यालयहरुको अतिरञ्जित प्रचार र फेसन बढेको छ नेपालमा पनि । बालबालिकाले पर्याप्त खेल्ने, रमाउने समय पाउनुपर्छ । यो नै उनीहरुले पछि भविष्यमा हासिल गर्ने शिक्षाको आधार हो ।

अहिले प्रसियन प्रणालीको शिक्षा नयाँ स्वरुपमा आएकोमात्र हो । जो शैक्षिक उद्योग अर्थात् एडुकेसन इण्डस्ट्रीको रुपमा विश्वव्यापी भएको छ । जहाँ प्रशासक, शिक्षक, सरकारी अधिकारीहरु, पाठ्यपुस्तक र पाठ्यक्रम प्रकाशक, शिक्षकहरुलाई तालिम दिने कलेजहरु विकासोन्मुख देशका लागि सहयोग/अनुदान र अपरिहार्य परामर्शदाताहरुको विशाल सञ्जाल खडा छ । सञ्जालमा जोडिएका सरोकारवाला सबैले आफ्नो आम्दानी, विकसित हुँदै आएको सार्वजनिक विद्यालय शिक्षा प्रणालीबाट प्राप्त गरिरहेका छन् । धेरैले वास्तवमै बालबालिका र शिक्षाको बारेमा इमानदारीपूर्वक राम्रो ख्याल राखेको पाइन्छ यद्यपि आजभोलि शिक्षामा व्यापारीकरण र व्यवसायीकरण भयो भन्ने गुनासो सुनिन्छ नेपाल जस्ता विकासोन्मुख देशमा । उनीहरुको चासो आर्जन हुने कमाइ र जागिरको सुरक्षामा पनि रहेको पाइन्छ । शिक्षा सेवा प्रदायकहरुको सोचलाई आर्थिक कारणले प्रभावित गरेको छ । परिणामस्वरुप उनीहरुमा दिगो शिक्षा विकासमा सीमित मात्र जागरुकता पाइन्छ ।

आजभोलि केही शिक्षाविद्/शिक्षाकर्मीहरुले खेल्दै पढ्दै गर्ने विधिको अभ्यास गरेको पाइन्छ । मन्टेश्वरी विद्यालयहरुको अतिरञ्जित प्रचार र फेसन बढेको छ नेपालमा पनि । बालबालिकाले पर्याप्त खेल्ने, रमाउने समय पाउनुपर्छ । यो नै उनीहरुले पछि भविष्यमा हासिल गर्ने शिक्षाको आधार हो । हुन त अहिलेका विद्यालय र शिक्षकहरु पहिलेका भन्दा तुलनात्मक रुपमा अलि नरम छन् । कडा अनुशासनको नाममा चरम यातना दिने, शारीरिक सजाय दिने, मानसिक दबाब दिने, कोर्रा हान्ने, सयौं पटक उठबस गर्न लगाउने, कुखुरा बनाउने, कानका लोती चुँडिने गरी तान्दिने, निलडाम हुने गरी कलिला गालामा झापड हान्ने जस्ता क्रूर र अमानवीय गतिविधि आजभोलि क्रमशः हराउँदै गएका छन् ।

विद्यालय र पुलिस थाना उस्तै उस्तै प्रतित हुन्थे केही समय अघिसम्म । शिक्षकसँग आँखामा आँखा जुधाएर कुरा गर्ने, बहस गर्ने, प्रश्न गर्ने छुट अझै पनि छैन । विद्यालयमा उट्पट्याङ गतिविधि गर्ने केटाकेटीहरु अनुशासनको कारबाहीस्वरुप कडा सजाय भोग्नुपर्ने परिपाटी अझै विद्यमान छ । भनेको नमाने, आज्ञा पालन नगरे शिक्षकलाई भन्दिन्छु, सजाय दिन लगाउँछु भनेर अभिभावकहरु स्वयं डराउन दिन्छन् आफ्ना छोराछोरीहरुलाई । शिक्षक देखे डराएर परपर भाग्ने मनोविज्ञान जबरजस्त रुपमा स्थापित भएको छ बालबालिकामा ।

आजभोलि संसारभरि नै व्यवसायिक शिक्षाकर्मीहरुले निर्धारण गरेका निश्चित पाठहरु विद्यार्थीले अनिवार्य पढ्नुपर्छ, सिक्नुपर्छ । सिक्ने र पढ्ने कुरा बालबालिकाको प्राथमिक कार्यको रुपमा प्रचलित त छ । तर, उत्पे्ररणा र सहकार्यबाट भन्दा पनि जोडबल र करकापबाट जबरजस्ती लाद्ने गरिन्छ ।

शिक्षण सिकाइको प्रकृतिसम्बन्धी मान्यताहरुमा अझै पनि परिवर्तन आउनसकेको छैन । सिक्नु, बुझ्नु, पढ्नु जटिल र दुःखको कार्य हो । त्यसैले बालबालिकालाई सिकाउन बल प्रयोग गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ । खासमा सिकाइ बालबालिकाले आफैंले छनोट गरेर गर्ने गतिविधिहरुमार्फत स्वतःस्फुर्त र प्राकृतिक रुपमा आफसेआफ हुँदै जाने प्रक्रिया हो । आजभोलि संसारभरि नै व्यवसायिक शिक्षाकर्मीहरुले निर्धारण गरेका निश्चित पाठहरु विद्यार्थीले अनिवार्य पढ्नुपर्छ, सिक्नुपर्छ । सिक्ने र पढ्ने कुरा बालबालिकाको प्राथमिक कार्यको रुपमा प्रचलित त छ । तर, उत्प्रेरणा र सहकार्यबाट भन्दा पनि जोडबल र करकापबाट जबरजस्ती लाद्ने गरिन्छ । शिक्षा पहिले र अहिले पनि पढाउने, घोकाउने, धम्काउने र परामर्श गर्ने कर्ममा सीमित छ । यद्यपि आजभोलि केही विद्यालयहरुले व्यवहारिक, वैज्ञानिक र खोजमूलक शिक्षा प्रदान गरेका छौं भन्ने झूटो दाबीसहितका विज्ञापन गरेको पनि पाइन्छ सर्वत्र ।

विश्वभर नै बालबालिका स्कुल जान्छन् । संसारभरका सबै स्कुलहरुमा अचम्म लाग्दो एकरुपता भेटिन्छः

  • शिशु कक्षादेखि कक्षा १२ सम्मको अनिवार्य शिक्षा ।
  • विद्यार्थीहरुलाई उनीहरुको आवश्यकता र चाहनाअनुसार नभएर उमेरका आधारमा वर्गीकरण ।
  • शिक्षक अधिकारी । विद्यार्थीहरु खालि टाउका लिएर जाने, शिक्षकले त्यहाँ ज्ञान भर्ने भन्ने मान्यता । विद्यालयमा विषयवस्तुको गहिराइ खोतल्ने, जोश र उमंग विकास गर्ने, सीप/क्षमता विकास गर्ने जस्ता कुरा अत्यन्तै कम हुन्छन् वा भनौं हुँदै हुन्नन् । घण्टीअनुसारका पिरियडमा आधारित यान्त्रिक शिक्षण सिकाइ गरिन्छ ।
  • शिक्षक छनोटको आधार शैक्षिक योग्यतामात्र हुने गर्छ । कति राम्रोसँग पढाउन सक्छ ? मतलब गरिन्न । बालबालिकासँग कतिको रमाउँछन्, घुलमिल हुन्छन्, उनीहरुलाई कतिको माया गर्छन् या घृणा खासै वास्ता गरिन्न ।
  • पाठ्यक्रम निश्चित हुन्छ, काम लाग्ने होस् या नहोस् । सबैलाई उही गतिमा पढाइन्छ । अथवा अझ कसैलाई पनि काम लाग्ने होस् या नहोस् मतलब गरिन्न ।
  • वास्तविक जीवनका अनुभव र भोगाइभन्दा परको स्ट्याण्डर्ड पाठ्यक्रम र पाठ योजनामा मात्र केन्द्रित हुन्छ शिक्षण सिकाइ ।
  • शिक्षक विद्यार्थी दुबैको एउटै विश्वास हुने गरेको छ । स्कुलको उद्देश्य भनेको विद्यार्थीहरुलाई परीक्षा पास गर्न तयार गराउने ।

विद्यार्थीको आवरणमा विविध कारणले देश छाड्ने बढिरहेका छन् । विद्यार्थी र अभिभावकहरुको एउटै गुनासो छ- नेपालमा किन बस्ने ? यहाँ पढेर के हुन्छ ? यसको मूल कारण अर्थ-राजनीति हो । हाम्रो रोजगार बजार न्यून छ । केही निजी कम्पनी र बैंक/वित्तीय संस्थालाई उद्योग मानिएको छ । तसर्थ बृहत रुपमा संरचनागत परिवर्तन नगर्दासम्म विद्यार्थी यसैगरी बाहिरिरहनेछन् ।

विश्वव्यापी शिक्षाको प्रेरणा प्रोटेस्टेन्ट धर्मको विकाससँगै भएको हो । मार्टिन लुथरले घोषणा गरे- धर्मग्रन्थको स्वअध्ययनबाट मुक्ति/मोक्ष प्राप्त हुन्छ । त्यस्ता धर्मग्रन्थले निरपेक्ष सत्यको असली प्रतिनिधित्व गर्छन् र यी सत्य जसले बुझ्नसक्छ, उसैलाई मुक्ति मिल्छ । पुनर्जागरण कालमा सार्वजनिक शिक्षा क्रिश्चियन कर्तव्यको रुपमा प्रवर्द्धन भयो । १७औं शताब्दीको अन्त्यतिर जर्मनी विद्यालय शिक्षाको विकासको नेतृत्वकर्ताको भूमिकामा रह्यो । सबै प्रान्तमा बालबालिकालाई स्कुल पठाउने कानून बनायो । तर, ती विद्यालयहरु राज्यले नभएर लुथरन चर्चले चलाउँथे । १९औं र २०औं शताब्दीमा सार्वजनिक शिक्षालय क्रमशः विकास भए । जसलाई अहिले हामी परम्परागत स्कुलिङ भनेर बुझ्छौं । विस्तारै अनुशासनका तरिका अलि मानवीय भए अथवा कम शारीरिक यातना दिन थालियो । बालमैत्री शिक्षाको वकालत हुन थाल्यो । सिकाइने पाठहरु अलि बढी स्वतन्त्र भए । पाठ्यक्रम विस्तार भयो । पढ्नुपर्ने पाठ, विषय, समय, दिन र वर्षहरु निर्धारण भए । अनिवार्य स्कुलिङ निरन्तर बढ्दै गयो । विद्यालयहरुले बालबालिकाले गर्ने खेतबारीमा काम गर्ने कारखाना र घरायसी कामलाई प्रतिस्थापन गरे ।

नेपालमा भने २००७ सालको परिवर्तनपछि बल्ल सार्वजनिक शिक्षाको ढोका खुल्यो । त्यसैले पनि होला हाम्रो शिक्षा पद्धति अझै पनि माथि उल्लेख भए जस्तै इतिहासको मध्य चरणतिर भए जस्तो आभास हुन्छ । मौलिक हकको रुपमा संवैधानिक व्यवस्था भएको छ । विद्यालय तहको शिक्षा अनिवार्य र निःशुल्क भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन अझै भएको छैन । लाखौं बालबालिका श्रमिक र घरेलु कामदारको रुपमा काम गर्न बाध्य छन् ।

क्रान्तिकारी कार्यक्रम वितरणको सिलसिलामा महात्मा गान्धीको पहिलो प्रस्ताव थियो- शिक्षाका सबै औपचारिक संस्थालाई दुई वर्षका लागि बन्द गरौं । यो सडेको शिक्षा, विदेश पलायन हुन प्रेरित गर्ने शिक्षा, अव्यवहारिक शिक्षा नपढेर केही बिग्रिँदैन । यतिबेला नेपालको अवस्था पनि ठ्याक्कै यस्तै भैरहेको छ । विद्यार्थीको आवरणमा विविध कारणले देश छाड्ने बढिरहेका छन् । विद्यार्थी र अभिभावकहरुको एउटै गुनासो छ- नेपालमा किन बस्ने ? यहाँ पढेर के हुन्छ ? यसको मूल कारण अर्थ-राजनीति हो । हाम्रो रोजगार बजार न्यून छ । केही निजी कम्पनी र बैंक/वित्तीय संस्थालाई उद्योग मानिएको छ । तसर्थ बृहत रुपमा संरचनागत परिवर्तन नगर्दासम्म विद्यार्थी यसैगरी बाहिरिरहनेछन् ।


प्रतिक्रिया

One thought on “कहाँ छ हाम्रो शिक्षा प्रणालीमा समस्या ?

  1. प्राचिनतम शिक्षा पध्दति राम्ररी चित्रण गरिएको भएतापनि इष्ट इण्डिया कम्पनीको भारतमा उदय र त्यसले तात्कालिन सामाजिक प्रचलनको प्रचलित गुरूकूललाइ कसरी तहस नहस गरेर वर्तमान शिक्षा प्रणालीको प्रादुर्भाव भएर नेपालमा पनि त्यही लादिएको शिक्षा प्रणाली कसरी अनुसरण गरियो भन्ने थप विवरण अावस्यक रहेको देखिन्छ । साथै लेखको शिर्षकले निम्त्याएको नेपालमा अब कस्तो शिक्षा प्रणालीको अावस्यकता छ भन्ने कुरा पनि समावेश गरिनु पर्छ । एउटै इस्युमा प्रकाशित गर्न असम्भव भएमा क्रमशः अर्को इस्युमा प्रकाशन गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *