‘अनैतिक’ प्रशासकीय अधिकृतलाई नगरपालिका प्रवेशमा रोक लगाउन १३ कार्यपालिका सदस्यको माग – Nepal Press

‘अनैतिक’ प्रशासकीय अधिकृतलाई नगरपालिका प्रवेशमा रोक लगाउन १३ कार्यपालिका सदस्यको माग

विराटनगर । झापाको दमक नगरपालिकाका १३ जना कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको संरक्षणमा दमकका मेयर नै लागेको आरोप लगाएका छन् ।

दमकका मेयर राम थापाले नगरपालिका परिसरभित्र रहेको प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमा निरौलाको एक महिलासँगको अनैतिक कार्य गरेको भिडियो फुटेज बाहिर आउँदा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै घटना ढाकछोप गर्न उद्यत रहेको आरोप लगाएका छन् ।

कार्यपालिका सदस्यहरुले विज्ञप्ति जारी गर्दै घटनाको विषयमा गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमहरुमा भिडिओ तथा यससम्बन्धी टीकाटिप्पणी आइरहँदा नगर कार्यपालिकाको आपतकालीन बैठक तत्काल बस्न माग गरेको बताएका छन् ।

आपतकालीन बैठकको माग गर्दा पनि नगरपालिकाका प्रमुख रामकुमार थापाले बेवास्ता गर्दै घटना ढाकछोप गर्ने उद्देश्यका साथ उक्त घटना भएको कोठामा रंगरोगन गरी घटनालाई ढाकछोप गर्न उद्यत भएको देखिएको उनीहरुले आरोप लगाएका छन् । कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलालाई नगरपालिकामा प्रवेश तथा हाजिर गर्न रोक लगाउन मागसमेत गरेका छन् ।

उनीहरुले यस विषयमा छानबिन गर्न तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई माग गरेका छन् ।

कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा लेखी पठाउँछौं : मेयर

दमक नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत निरौलाका विषयमा आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा लेखि पठाउने भएको छ ।

दमकका मेयर राम थापाले विज्ञप्ति जारी गर्दै नगरवासीको प्रतिष्ठामा आँच आउन नदिने बताएका छन् ।

विज्ञप्तिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाको नाम जोडिएर हाल विभिन्न सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यमहरुमा आएका पोष्टहरु र समाचारप्रति दमक नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

घटनाको सम्बन्धमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने साथै दमक नगरपालिका र नगरवासीहरुको प्रतिष्ठासँग जोडिने कुनै पनि विषयप्रति आँच आउन नदिन नगरपालिका सदैव सचेत रहने विज्ञप्तिमा उल्लेख छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले क्वाटरमा एक जना महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएको छ । मदिराले लट्ठ भएर निरौलाले गरेको क्रियाकलापका विषयमा विरोध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *