हृदयन्द्रलाई जन्मदिनको शुभकामना दिँदै रवीन्द्र मिश्रले भने- भविष्यमा राजगद्दीको भार बोक्न शक्ति मिलोस् – Nepal Press

हृदयन्द्रलाई जन्मदिनको शुभकामना दिँदै रवीन्द्र मिश्रले भने- भविष्यमा राजगद्दीको भार बोक्न शक्ति मिलोस्

राजनीतिक दलहरूलाई न्यूनीकरण गर्ने काम कहिल्यै नगर्न हृदयन्द्रलाई मिश्रको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वनवयुवराजधिराज हृदयन्द्रलाई भविष्यमा देशको राजगद्दी सम्हाल्न शुभकामना दिएका छन् । हृदयन्द्रको जन्मदिनका अवसरमा सामाजिक सञ्जालमार्फत उनले यस्तो शुभकामना दिएका हुन् ।

मिश्रले ट्वीट गरेका छन्, ‘मानसिक, बौद्धिक, चारित्रिक, राजनीतिक, सबै दृष्टिकोणबाट– आफ्ना पुर्खाबाट भएका राम्रा कामबाट प्रेरणा लिँदै र गल्तीबाट पाठ सिक्दै- यो देशको दिर्घकालीन हित, शान्ति, स्थिरता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि– भविष्यमा राजगद्दीको भार बोक्न बहुसंख्यक नेपाली जनता र ईश्वरले विवेक र शक्ति प्रदान गरून् !’

आफू ‘दुर्गन्धित’ भएर अरूमा ‘सुगन्ध’ खोज्ने समाजमा ‘छवि’ जोगाउन सहज नभएको भन्दै उनले हृदयन्द्रलाई सचेत गराएका छन् ।

‘कहाँनिर मौका पाऊँ र धज्जी उडाऊँ भन्नेहरूको संख्या कम छैन । विचार पुर्याउन विनम्र आग्रह गर्दछु’, उनले भनेका छन् ।

मिश्रले राजनीतिक दलहरूलाई न्यूनीकरण गर्ने काम कहिल्यै नगर्न हृदयन्द्रलाई सुझावसमेत दिएका छन् । राजनीतिक दलहरूलाई न्यूनीकरण गर्दा राजसंस्था र प्रजातन्त्र दुवै संकटमा पर्ने गरेको भन्दै उनले यो देश ढिलोचाँडो नराम्रो संकटमा फँस्ने भविष्यवाणीसमेत गरेका छन् ।

‘हामी राजनीतिक, सामाजिक र संस्थागत रूपमा यति पतित भइसकेका छौँ कि गम्भीर संकट आइपर्दा राजसंस्थाबाहेक अन्य कुनै संस्थाले त्यो सङ्कटबाट देशलाई पार लगाउन सक्दैन’, उनी भन्छन्, ‘डर के हो भने जुन गतिमा ‘राष्ट्र र राज्य’ क्षयीकृत भएर गइरहेको छ, भोलि गएर राजसंस्थाले समेत सम्हाल्न नसक्ने स्थिति सृजना हुन सक्छ । त्यसको सबैभन्दा घातक असर यो देशका युवाहरूमा पर्ने छ ।’

देशको लागि आ–आफ्ना विचारलाई थाँती राख्दै एउटा ‘नवीन समझदारी’मा पुगेर राजसंस्था पुनर्स्थापना गर्न अब धेरै समय नलागोस् भन्ने मिश्रको शुभेच्छा छ ।

पूर्वनवयुवराज हृदयन्द्र आज २२ औं वर्षमा प्रवेश गरेका छन् । उनी पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीका एक मात्र छोरा हुन् । उनको जन्म २०५९ साल साउन १४ गते भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर