वर्षा नभएपछि मधेशमा चुलियो खानेपानी संकट, बाँझै छन् धान खेत – Nepal Press

वर्षा नभएपछि मधेशमा चुलियो खानेपानी संकट, बाँझै छन् धान खेत

जनकपुरधाम । लामो समयदेखि वर्षा नभएपछि मधेशका जिल्लाहरुमा खानेपानीको संकट निम्तिएको छ । ग्रामीण भेगका जनताका लागि खानेपानीको मुख्य स्रोत हो- चापाकल । तर, चापाकलसमेत सुक्न थालेको छ ।

पानीको मुहान सुकेर चापाकलले थोरै पानी दिन्छ । चापाकलबाट यतिबेला पानी तान्न धौ धौ पर्ने गरेको सर्वसाधारण सुनाउँछन् । बोरिङ, इनार, पोखरी र नदीनालासमेत सुक्न थालेको छ ।

असार र साउनमा बाढीले उठिबास लगाउने कमला, बलान, गागन जस्ता नदीहरुमा समेत पानी छैन । पहाडमा समेत वर्षा कम भएकाले यस क्षेत्रका नदीनालाहरु सुख्खा परेको छ ।

लामो समयदेखि वर्षा नहुँदा पानीको सतह घटेको छ । चुरे क्षेत्रसँग जोडिएका मधेशका गाउँघरमा जडित चापाकलहरु सुक्ने क्रम बढेको छ । दक्षिणवर्ती क्षेत्रमा समेत पानी सुक्न थालेको छ ।

सिरहाको गोलबजार नगरपालिकामा पर्ने गुरुधामका उद्धव थपलिया भन्छन्, ‘पानीको यस्तो संकट कहिल्यै भएको थिएन । यसवर्ष सय फिटभन्दा कम रहेको सबै चापाकल सुकिसक्यो । बोरिङको पानीले अहिलेसम्म धानेको छ । तर, अब बोरिङ पनि सुक्ने अवस्थामा छ, पानी कम आउन थालेको छ ।’

सिरहाको चन्द्रलालपुर, ढोढना, विष्णुपुरकट्टी, लालपुर, जमदह, फूलवरिया, बडहरामाललगायतका ठाउँमा पानीको बढी समस्या देखिएको छ ।

वीरगञ्जमा चापाकलमा पानी आउन छाडेपछि खानेपानीको हाहाकार मच्चिएको छ । वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट सर्वसाधारणलाई खानेपानी पुर्‍याउन सुरु गरिएको छ ।

धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र बारामा पनि पानीको संकट चुलिएको छ । ‘पहिला पहिला समयमै वर्षा हुन्थ्यो । चापाकल, इनार, पोखरी सुक्दैनथे’, धनुषाको कमला नगरपालिकाका अग्रज विनोद रोहिता भन्छन्, ‘अहिले प्रकृतिले पनि रूप बदले जस्तो लाग्छ ।’

विगत सम्झँदै उनले सुनाए, ‘पहिले समयमै पानी पर्थ्यो । अहिले त पानी पर्ला जस्तो हुन्छ तर, पर्दैन । पानी नपरेर खेत बन्जर भइसक्यो ।’

उनले वर्षा नभएपछि यसवर्ष धानसमेत रोप्न नपाएको गुनासो गरे ।

हरियाली हराउँदा प्रकृतिमा डरलाग्दो परिवर्तन आएको छ । यतिबेला धान खेतहरु हरियालीले छपक्क छोपिएको हुन्थ्यो । तर, जता हेर्दा पनि खेतहरु सुख्खा र उराठलाग्दो छ ।

चुरे विनाशका कारण पनि वर्षा नहुने गरेको र खडेरी पर्ने अवस्था आएको छ । अनियन्त्रित चुरे दोहनले पानी पुनर्भरण क्षेत्र खुम्चिएर चुरे फेदका बस्तीबाट सुरु भएको खानेपानीको हाहाकार यो वर्षदेखि राजमार्ग र दक्षिणवर्ती बस्तीसम्म फैलिएको छ ।

धान खेतहरु बाँझै !

असार र साउन सबभन्दा बढी वर्षा हुने महिना हो । तर, मधेशका जिल्लाहरुमा यसवर्ष पर्याप्त वर्षा भएन । वर्षा नभएकाले खानेपानीको मात्र हाहाकार भएको छैन, किसानहरुले धानसमेत रोप्न पाएका छैनन् । धान खेतहरु बाँझै छन् ।

कमला नगरपालिका- ५ का किसान अशोक कामत भन्छन्, ‘अढाई विगा जग्गा छ । जसमध्ये अहिलेसम्म दुई विगा बाँझै छ । खेतमा दमकलले पानी हालेर १० कट्ठामा मात्रै जसोतसो धान रोपें ।’

‘दमकलले खेती गर्न सम्भव नै छैन’, उनले भने, ‘दमकलले खेतमा पानी हाल्छौं । तर, दुई दिन पनि टिक्दैन, सुकिहाल्छ ।’

वर्षा भएपछि मात्र बाँकी खेतमा धान रोप्ने उनले सुनाए । उनका अनुसार कमला नगरपालिकाका किसानले अहिलेसम्म २०-२५ प्रतिशत खेत पनि रोपेका छैनन् । अन्य ठाउँमा पनि यस्तै अवस्था छ ।

वर्षा नभएपछि धानको ब्याड खेतमै सुक्न थालेको छ । रोपिसकेको धान पनि सुक्न थालेपछि किसानहरु चिन्तित छन् । अधिकांश धान खेतहरु बाँझै भएपछि यस वर्ष खाद्यान्न संकट निम्तिने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *