जनयुद्धकालीन समयलाई सम्झिँदै प्रचण्डले भने- माधव मरहट्टाको घर हामीलाई भूमिगत आश्रयस्थल थियो (भिडिओ) – Nepal Press

जनयुद्धकालीन समयलाई सम्झिँदै प्रचण्डले भने- माधव मरहट्टाको घर हामीलाई भूमिगत आश्रयस्थल थियो (भिडिओ)

‘सरकार जस्तासुकै चुनौती छिचोलेर भए पनि भ्रष्टाचारविरोधी अभियानमा उभिन्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको समयमा स्व. माधवप्रसाद मरहट्टाको घर आफूहरुलाई भूमिगत आश्रयस्थल रहेको खुलाएका छन् ।

‘माधव सर’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हिजोका पञ्चायत र निरंकुशताविरोधी आन्दोलनका कठिन भूमिगत समयमा उहाँसँग भएका छलफल सहभागिता र युद्धको उठानसँगै पैदा भएको जटिलताको समयमा पनि उहाँ र उहाँको परिवारले पु¥याएको योगदान मेरो मानसपटलमा स्मरण भएको छ ।’

उनले पार्टीभित्रको समस्या समाधानका लागि मरहट्टाले खेलेको सहजीकरणको भूमिका पनि स्मरण गरे ।

प्रचण्डले थपे, ‘धेरै कठिन अवस्थामा उहाँको घर हामीलाई भूमिगत आश्रयस्थलमात्रै होइन, पार्टीका महत्वपूर्ण र संवेदनशील बैठकहरु पनि सम्पन्न भएका छन् । पार्टीभित्रको अन्तरविरोधको जटिल समयमा पनि उहाँको घर समस्या समाधानको एउटा केन्द्र हुने गरेको थियो । उहाँले समस्या समाधान गर्न सहजीकरणको भूमिका खेल्नुहुन्थ्यो ।

उनले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको समेत बताए ।

‘सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जे जति मेहनत गरिएको छ, त्यसबाट जे जस्ता उपलब्धिहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ’, उनले भने, ‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरू गरिएका छन्, यसले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ, नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।’

सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्न जनसमुदायलाई अपिलसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *