राप्रपाको कार्यालयमा महानगरले डोजर चलाउला ? लिङदेनको फोन बालेनले उठाएनन् – Nepal Press

राप्रपाको कार्यालयमा महानगरले डोजर चलाउला ? लिङदेनको फोन बालेनले उठाएनन्

लिखित सूचना र आधिकारिक पत्रविना डोजर लगाउन खोज्नु ज्यादतीः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय डोजर लगाएर भत्काउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले घर खाली नगरिए डोजर लगाउनुको विकल्प नभएको बताए ।

गत शुक्रबार नगर प्रहरीले राप्रपाको कार्यालयमा गएर घर खाली गर्न माइकिङ गरेको थियो । उनीहरुले सोमबारअघि घर खाली नगराए डोजर चल्ने चेतावनी दिएर गएका थिए ।

राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले नगर प्रहरीले माइकिङ गरेर गए पनि महानगरबाट कुनै लिखित सूचना वा पत्र नआएको बताए ।

‘के कारणले भवन खाली गर्नुपर्ने हो भन्ने हामीलाई कुनै आधिकारिक जानकारी दिनुभएको छैन । हामीले लिखित पत्र मागेका छौं । तर, महानगरबाट कुनै रेस्पोन्स भएको छैन’, उनले भने ।

स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन स्वयंले महानगरका प्रमुख बालेन्द्र शाहसँग कुरा गर्न खोजे पनि सफल भएका छैनन् । अस्ति लिङदेनले गरेको फोन बालेनले रिसिभ गरेनन् भने म्यासेजको पनि रिप्लाइ गरेनन् ।

नगर प्रहरी प्रमुख पाण्डेले हाइटेन्सनमुनि निर्माण भएकाले घर भत्काउनुपर्ने बताए ।

उनले भने, ‘हाइटेन्सनमुनि घर बनाउन पाइँदैन । त्यसैले हामीले खाली गर्न भनेका हौं । आजसम्म पर्खिन्छौं । नत्र भोलि डोजर चल्छ ।’

राप्रपाले भने घर खाली गर्न कुनै तयारी गरेको छैन । पार्टीभित्र यो विषयमा औपचारिक छलफल नभएको मुख्य सचिव अधिकारी बताउँछन् ।

‘के गर्ने भनेर अहिलेसम्म मलाई कुनै स्पष्ट निर्देशन आइसकेको छैन । हामीले महानगरको मनसाय बुझ्न सकेका छैनौं । यही स्थानमा थुप्रै घरहरु हाइटेन्सन मुनि बनेका छन् । तर, राप्रपाको घरलाई मात्रै टार्गेट गरिएको छ’, उनले भने ।

नगर प्रमुख पाण्डे भने हाइटेन्सन मुनि बनेका सबै घरहरु भत्काइने बताउँछन् ।

‘नियम-कानून सबैलाई बराबर हुन्छ । त्यसमाथि देशको नेतृत्व गर्छु भन्ने राजनीतिक पार्टीकै कार्यालय अवैध छ भने त्यसले कस्तो सन्देश जान्छ ? त्यसैले यसमा कुनै कम्प्रोमाइज गर्न सकिँदैन’, उनले भने ।

आफू राप्रपासँग कुरा गर्न तयार रहेको उनले बताए । ‘उहाँहरु आज कुरा गर्न आउँछौं भन्नुभएको छ । कस्तो कुरा गर्नुहुन्छ, त्यहीअनुसार कदम चाल्ने हो । तर, घर खाली गर्ने कुरामा सम्झौता गर्ने कुनै सम्भावना छैन’, उनले भने ।

धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्सापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर–जग्गा प्रयोग गर्न दिएका थिए । मुख्य सचिव अधिकारीका अनुसार नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि गरिएको छैन ।

यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ । घरमा डोजर चल्नबाट रोक्न अदालत गएर अन्तरिम आदेश ल्याउने विकल्प छ । तर, राप्रपाको नाममा घर नभएकाले घरधनीहरुले नै यसका लागि निवेदन दिनुपर्ने हुन्छ । तर, घरधनीहरुले चासो नदिँदा कतै उनीहरु आफैं घर खाली गराउन चाहिरहेका छन् कि भन्ने आंशमा पैदा भएको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर