३२२ उद्योग दर्ता, २३ हजार ३२४ जनाले रोजगारी पाउने – Nepal Press

३२२ उद्योग दर्ता, २३ हजार ३२४ जनाले रोजगारी पाउने

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब १४ अर्ब बराबरको ३ सय २२ उद्योग दर्ता भएको छ । उद्योग विभागले ३ सय २२ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको जनाएको छ । जसबाट २३ हजार ३ सय २४ जनाले रोजगारी पाउने बताइएको छ ।

गत वर्ष ३ सय २७ वटा विदेशी लगानी स्वीकृत भएको छ । ३३ अर्ब १४ करोड रुपैयाँ बराबरको प्रस्तावित लगानी रहेको छ । दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, १५ करोड देखि ५० करोडसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक १५ करोडसम्मको स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ ।

विदेशी लगानीका परियोजनाहरुबाट मात्रै १७ हजार १२ जनाले रोजगारी पाउने छन् । यस्तै गत वर्ष ५ वटा पेटेन्ट दर्ता र १८ वटा डिजाइन दर्ता भएको छ । त्यस्तै गत आवमा दर्ता भएका ट्रेडमार्कको सङ्ख्या तीन हजार दुई सय ५४ रहेको छ ।

पछिल्लो एक वर्षको अवधिमा ट्रेडमार्कसम्बन्धी मुद्दामा एक सय ५० कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृति लिनेको सङ्ख्या ८२ छ ।

चार सय चार उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि विभागबाट मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रमाणित गराएका छन् भने भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिफारिस भएका ९८ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर