दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत, प्रमाण मेटाउन क्वार्टरमा रंगरोगन – Nepal Press

दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत, प्रमाण मेटाउन क्वार्टरमा रंगरोगन

विराटनगर । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला चारित्रिक विवादमा मुछिएका छन् । उनले आफ्नो सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएको छ ।

रक्सीले टिल भएकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पतिपत्नी होइनन् ।

दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ । स्रोतका अनुसार उनी स्थानीय एक व्यवसायीको पूर्व पत्न्नी हुन् ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको पुष्टि गरे । छानबिन गरी प्रमाणित भए कारबाही गरिने उनले बताए । भिडियोले दमक नगरपालिकाकै बदनाम भएको दाहालको भनाइ छ ।

भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका कर्मचारीले बताएका छन् । निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरे  ।

नेपाल प्रेससँगको कुराकानीमा उनले काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो भएको बताए । उनले धेरै जनाको समूहमा खिचिएको भिडियो कसरी बाहिरियो भनेर आफू पनि अचम्मित बनेको उल्लेख गरे ।

यसैबीच भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । उनले नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् ।

घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वाटरस्थित बेडरुमको रंग परिवर्तन गरेको स्रोतले बतायो । पहिलेको हरियो रंग बदलेर उनले पहेँलो रंग दल्न लगाएका छन् ।

निरौलाले भने क्वार्टरभित्र बेडरुमको रंगरोगन गर्नु संयोग मात्र भएको बताए ।


प्रतिक्रिया

2 thoughts on “दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत, प्रमाण मेटाउन क्वार्टरमा रंगरोगन

  1. अचम्म को मुलुक छ,कोइ कसैले मन मिलेर अनैतिक कार्य गरि हालेछ।मिडिया लाई चाड पर्व आए जस्तो भाको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर