हुम्लाको सर्केगाडका तीन वडा बाढी, पहिरोको उच्च जोखिममा – Nepal Press

हुम्लाको सर्केगाडका तीन वडा बाढी, पहिरोको उच्च जोखिममा

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका तीन वटा गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाको २, ६ र ८ वडामा अविरल वर्षाका कारण खोलामा बढेको पानीको बहावले बाढी र पहिरोको उच्च जोखिम बढेको हो ।

गएरातिबाट निरन्तर परेको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि त्यहाँका स्थानीयहरू त्रसित बनेका छन् । पालिकाको वडा नम्बर–२ को रिप, ६ को जिउँसी र ८ को एउटा गाउँका नागरिकहरू त्रासमा रहेको जनाइएको छ ।

गाउँको वरिपरि खाल्या घट्ट खोला, छडिखोला, कवाडि खोला र गोलखाडा खोलामा लगातार परेको वर्षाका कारण खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँ जान कठिन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।

हिजोबाट लगातार परेको वर्षका कारण गाउँपालिकाका २, ६ र ८ नम्बर वडाका नागरिकको जनजीवन कष्टकर बनेको छ,‘उनले भने,‘ रिप गाउँको वरिपरिका खोला नालाहरू बढेर गाउँ पसेका छन् भने खोलामाथि बनाइएका काठे पुलहरू बगाएको छ । पुल बगाउँदा मान्छेहरू बस्तीबाहिर आउन सकेका छैनन् ।,

हालसम्म मानवीय क्षति नभए पनि बस्ती उच्च जोखिममा रहेको अध्यक्ष रोकोले ेनेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार जम्मा १४ सय घरधुरीमा ८ सय घरधुरी उच्च जोखिममा रहेको बताए । जिल्लाबाट राहतको लागि सुरक्षाको टोली पनि पठाउने प्रयास भइरहेको छ । प्रदेश सरकार र संघ सरकारसँग पनि यसको बारेमा जानकारी भएको अध्यक्ष रोकायाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पानीको बहाव बढेको र पहिरो जानुका साथै खोलाको डिलहरू भत्किने गरेको हुँदा नागरिकमा त्रास बढेको बताए । सुरक्षा निकाय उक्त स्थान गइसेको जनाए ।

उनले भने,‘खोलामा पानीको बहाव त बढेको छ, खोलाको छेउछाउ त भत्केको छ तर गाउँमा भने केहि भएको छैन र कुनै अप्रिय घटना घटेको छैन ।’

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बस्ती वरिपरि पहिरो बगेको जनाए । बस्तीबाट बाहिर निस्किनका लागि काठे पुल पनि बाढीले बगाएको हुँदा उक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्नु पर्ने तत्कालको आवश्यकता रहेको बताए ।

उक्त ठाउँमा फोन पनि नलाग्ने हुँदा हेलिकप्टर मार्फत गएर त्यहाँका नागरिकलाई बस्ती भन्दा बाहिर सार्नका लागि लागि नेपाली सेना र नेपाल प्रहरीलाई परिचालन गरिएको मन्त्री जिसीले बताए ।

उनले भने, ‘ती बस्तीलाई सुरक्षित ठाउँमा सार्नु पहिलो काम र त्यसपछि, बाढी पहिरो कम भयो भने बस्ती स्थानान्तरण गर्ने बारे सोच्ने छौँ । मौसमले साथ दियो भने म पनि त्यहाँ पुग्छु होला । उद्धार र रात सामाग्रीको लागि गृह मन्त्रालयबाट हेलिकप्टरको लागि अनुरोध गरेका छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर