बहुमत जुटाउन सभामुखलाई राजीनामा गराउने गठबन्धनको तयारी, उपसभामुखले पनि राजीनामा दिए के होला ? – Nepal Press

बहुमत जुटाउन सभामुखलाई राजीनामा गराउने गठबन्धनको तयारी, उपसभामुखले पनि राजीनामा दिए के होला ?

विराटनगर । कोशी प्रदेशमा बहुमत पुर्‍याउनका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी भइरहेको छ । सभामुखबिना कोशी प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन समस्या भएपछि सभामुखलाई राजीनामा दिन लगाउने तयारी भएको हो ।

यस विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । छलफलका क्रममा सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर भए पनि बहुमत सङ्ख्या पुर्‍याउने सहमति भएको छ । तर यस विषयमा औपचारिक निर्णय भने आउन बाँकी छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का महामन्त्री विश्वप्रकाश शर्मा सहितको बैठकले सभामुखलाई राजीनामा गराएर भए पनि सत्ता गठबन्धनकै सरकार बनाउने निष्कर्ष निकालेको छ ।

कोशी प्रदेशमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्दछ । सभामुखबिना ४६ सदस्य मात्रै भएपछि सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गर्न लगाउने तयारी भएको हो । सभामुख बाबुराम गौतम माओवादीबाट सभामुख भएका हुन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरू मध्ये काङ्ग्रेसका २९, माओवादी केन्द्रका सभामुख सहित १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सदस्य रहेका छन् ।

यसअघि सभामुखको हस्ताक्षर सहित बहुमत भएको दाबी सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका नेपाली काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुखले असार २१ कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेका थिए ।

सो नियुक्तिलाई साउन ११ गते सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको छ । अदालतको फैसलामा प्रदेश सभाको बैठक बाहिर हुने कुनै पनि छलफल, प्रस्ताव, दाबी, प्रतिदाबीलाई समर्थन गर्ने प्रस्तावको पक्ष वा विपक्षमा मत जाहेर गर्ने अधिकार विपक्षी सभामुखलाई नेपालको संविधान एवं प्रचलित कानूनले कहीँ कतैपनि नदिएको उल्लेख छ ।

फैसलामा ‘सभामुखले अभिव्यक्त गरेको वा समर्थन गरेको मतलाई देखाएर प्रदेश सभाको सरकारको नेतृत्व आफूले गर्ने भनी विपक्षी मुख्यमन्त्रीले पेश गरेको दाबी एवम् सो दाबीलाई स्वीकार गर्ने विपक्षी प्रदेश प्रमुखको निर्णय नेपालको संविधान,कानून, विधिको शासन र संसदीय प्रणालीका मान्य सिद्धान्त विपरीत छ,’ भनिएको छ ।

अदालतको फैसलाले सभामुखलाई गणना गरेर बहुमत पुर्‍याउन रोक लगाएपछि सभामुखलाई राजीनामा गराएर साउन १६ गते भित्र सरकार गठनको दाबी पेश गर्ने सत्ता गठबन्धनको तयारी रहेको स्रोतले जनाएको छ ।

यसअघि सरकार गठनमा बाबुराम गौतमको हस्ताक्षर सहित बहुमत पुर्‍याएको दाबी गर्दै नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सरकार गठनका लागि दाबी पेस गर्न गएका थिए ।

सोही दाबीका आधारमा खापुङ्गले थापालाई मुख्यमन्त्री असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर सरकार गठनमा सभामुख प्रत्यक्ष संलग्न भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्त बदरको माग दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनको रिट निवेदन उपर सुनुवाइ गर्दै थापाको नियुक्ति सुरुदेखि कै प्रक्रिया असंवैधानिक रहेको ठहर गर्दै उनको नियुक्ति उत्प्रेषणको आदेशबाट साउन ११ गते बदर गरिदिएको थियो ।

न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै साउन १७ गते भित्रमा नयाँ सरकार गठनका लागि आदेश दिएको छ ।

थापाको नियुक्ति बदर गर्दै पुन १६८९ २० अन्तरगत नै सरकार गठनकोको आदेश दिएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले साउन १६ गते ५ बजे सम्ममा बहुमत दाबी गर्दै सरकार गठनको आव्हान गरेका छन् ।

सभामुखले राजीनामा दिँदा गाँठो पुग्छ ?

नेपालको संविधानको धारा १८२ को उप धारा ६ (ख) अन्तरगत सभामुखले राजीनामा दिन सक्ने छ । सभामुख अनुपस्थित भएको अवस्थामा संविधानको धारा १८६ (४) अन्तरगत रहेर उप सभामुखले सभा सञ्चालन गर्ने छन् ।

कोशी प्रदेश सभा नियमावली संशोधन सहित को नियम १६९ (१) मा सभामुखले उप सभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिनु पर्ने व्यवस्था रहेको छ ।

यसरी दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले सभामा पढेर सुनाउनु पर्ने व्यवस्था नियमावलीले गरेको छ । यदि प्रदेश सभा चालु नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरी त्यसको प्रचार प्रसार समेत गर्नु पर्ने व्यवस्था छ ।

कोशी प्रदेशमा उप सभामुख पदमा एमालेबाट निर्वाचित भएका छन् । प्रदेश सभाका सभामुख बाबुराम गौतमले उप सभामुख सृजना दनुवारलाई राजीनामा दिएको अवस्थामा कोशी प्रदेश सभामा माओवादीको सदस्य सङ्ख्या १३ हुने छ ।

माओवादीको १३ सदस्य गणना भएसँगै सत्ता गठबन्धनलाई सरकार गठनमा बहुमत पुग्ने छ । सभामुखले राजीनामा दिएको अवस्थामा उप सभामुखले सभा सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।

उप सभामुखले पनि राजीनामा दिए के हुन्छ ?

कोशी प्रदेश सभामा सरकार गठनका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनसँग एक सिट कमी हुँदा दिगो सरकार सञ्चालनमा समस्या देखिएको छ ।

सभामुखले राजीनामा दिएर सरकार गठनका लागि बहुमत पुगे पनि विश्वासको मत लिने अवधिमा उप सभामुखले पनि राजीनामा दिए पुन नयाँ सरकार पनि ढल्ने निश्चित छ ।

उप सभामुखले सभा सञ्चालन गरेको अवस्थामा विश्वासको मत लिने दिन सत्ता गठबन्धनको सदस्य सङ्ख्या ४७ पुग्ने निश्चित छ । तर विश्वासको मत लिने मिति अगावै उप सभामुखले राजीनामा दिए सत्ता गठबन्धनलाई समस्या हुने देखिन्छ ।

नेपालको संविधानको धारा १८२ को उप धारा ५ मा सभामुख र उप सभामुखको निर्वाचन नभएको अवस्था वा दुवै पद रिक्त रहेको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ ।

कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य गयानन्द मण्डल हुन् । उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर