पानी माग्दै धनुषाको प्रसिद्ध धनुष मन्दिरमा दूध चढाइयो – Nepal Press

पानी माग्दै धनुषाको प्रसिद्ध धनुष मन्दिरमा दूध चढाइयो

जनकपुरधाम । लामो समयदेखि वर्षा नभएपछि  पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दूध चढाइएको छ ।

आज दूध अर्पण कार्यक्रमको आयोजनागरी साधुसन्त र पूजारीले धनुष मन्दिरमा दूध अर्पण गरेका हुन् । मन्दिरमा दूध चढाउन आज स्थानीयले   दूध संकलन गरेका थिए । ती सबै दूध मन्दिरमा चढाइएको छ ।

आकाशे वर्षा नभएकाले खडेरी पर्ने चिन्ताले सर्वसधारणलाई सताएको छ । किसान धान रोप्न पाएका छैनन् । मधेशको उत्तरी क्षेत्रको खानेपानीको हाहाकार भएको छ । हाते कल (चापाकल), पोखरी र इनारहरु समेत सुक्न थालेको छ ।

त्रेतायुगमा भगवान रामले माता सीतासँग विवाह गर्नका लागि धनुष तोडेका थिए । तोडिएको धनुषको एउटा टुक्रा आकाश, एउटा पाताल (धर्ती) र एउटा टुक्रा धनुषाधाममा खसेको धार्मिक विश्वास छ । अहिले पनि धनुषाधाममा धनुषाको टुक्रा देख्न सकिन्छ ।

भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नामाकरण धनुषाधाम गरिएको छ र त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ । उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खडेरी नपर्ने मान्यता छ ।

सोही मान्यताको आधारमा आज धनुष मन्दिरमा दूध चढाइएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *