फूलबारी पार्क: लुम्बिनीमा धेरै पर्यटक भित्राउने तेस्रो पर्यटकीय स्थल (तस्बिरहरु) – Nepal Press

फूलबारी पार्क: लुम्बिनीमा धेरै पर्यटक भित्राउने तेस्रो पर्यटकीय स्थल (तस्बिरहरु)

रुपन्देही । लुम्बिनी प्रदेशमा धेरै पर्यटक भित्राउने तेस्रो पर्यटकीय क्षेत्र हो मणिमुकुन्द सेन उद्यान (फूलबारी पार्क) । पछिल्लो तथ्यांकअनुसार लुम्बिनी, शंकरनगर बनबिहार(वनबाटिका)पछि धेरै पर्यटक आउने क्षेत्र हो फूलबारी ।

उद्यानलाई व्यवस्थित रुपले संचालन गरेर नेपालमै नमुना सूचिमा रहेको यो उद्यानले अहिले देशभरका पार्क व्यवस्थापन समितिको सम्मेलन गरेर यसको नेतृत्व गरेबाट पनि आफ्नो पहिचान थपेको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएर रहेको यो पार्क ऐतिहासिक जितगढी किल्लासँग जोडिएर रहेकाले पनि यसको महत्व बढेको हो । बुटवलको तिनाउ पुल तर्नेबित्तिकै पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको छ मणिमुकुन्द सेन उद्यान । जितगढी किल्ला अंग्रेजलाई पराजित गरेको इतिहास र पाल्पाली राजा मणिमुकुन्दको नाममा बनाइएको यो उद्यानले इतिहासको संरक्षण गरेकाले पनि धेरै पर्यटकको रोजाइमा परेको हो ।

गत आर्थिक वर्ष आन्तरिक र बाह्य गरी कम्तीमा ४ लाख टिकट नै काटेर र टिकट नकाटी करिब साढे २ लाख पर्यटक यहाँ आएको उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवाल बताउँछन् । यीमध्ये १ लाखभन्दा बढी भारतीय पर्यटक नै यहाँ आउने गर्दछन् । यसबाट करिब ४ करोडको कारोबार उद्यानमा भएको छ ।

पहाडको काखमा हरियाली जंगलको बीचमा रहेकोले यहाँ बजार क्षेत्रको तुलनामा दुईदेखि ४ डिग्री सेल्सियससम्म कम तापक्रम हुने र बोटबिरूवाको हरियाली र रंगीचंगी फूलका बाटिकाहरूले त्यहाँ पुग्ने सबैलाई आकर्षित गर्ने गर्दछ । सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको नाममा रहेको यो उद्यान पिकनिक, विवाह, भेटघाट, सामाजिक संघसंंस्थाका विभिन्न कार्यक्रमको थलो बन्दै गएको छ ।

३० को दशकबाट पुनर्जागरण र ५० को दशकबाट पुनः निर्माण शुरु भएको यो उद्यान देशकै नमूना र अगुवा उद्यानको रुपमा प्रख्यात भएको छ ।उद्यान संरक्षण समितिका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइटेलका अनुसार ‘फूलबारी’ नाम राखेर २०३६ सालमा स्थापित यो पार्कलाई २०५४ सालमा ‘मणिमुकुन्द सेन उद्यान’ नाम दिएर सञ्चालन र व्यवस्थापन गरिएको छ । अहिले पनि ‘फूलबारी’ नाम नै प्रख्यात छ ।

सुरूमा १५ बिघा क्षेत्रफलमा स्थापित पार्क अहिले २५ बिघामा फैलिएको छ । पार्कभित्र विभिन्न वाटिका, चिडियाखाना र बाल उद्यान छन् । तर बढ्दो पर्यटकको चापले यो क्षेत्र कम हुँदै गएको छ । उद्यानमा मानवपुर्खा मानिने रामापिथेकसको अर्धकदको शालिक छ ।

सन् १९८० डिसेम्बरमा बुटवलनजिकै तिनाउ किनारको पहरामा रामापिथेकसको माथिल्लो बंगारा भेटिएको थियो । यो बंगारा एक करोड १० लाख वर्ष पुरानो मानिएको छ । यो बंगारा काठमाडौंको प्राकृतिक संग्रहालयमा राखिएको छ ।

यसैगरी मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, उजिरसिंह थापा, यादवनाथ आलोक, लखन थापा, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरूङ लगायतका अर्धकदका शालिक राखेर ‘बुटवल स्मारक’ निर्माण गरिएको छ । हरेक उमेर समूहका मानिसहरूलाई उत्तिकै आकर्षित गर्ने यो पार्कमा नवविवाहित जोडी र प्रेमीप्रेमिकाहरू पनि घुमफिरका लागि जान्छन् ।

चलचित्र र गीतको भिडिओ छायांकनका लागि पनि मणिमुकुन्द उद्यान आकर्षक स्थल बनेको छ । यहाँको चिडियाखानामा चितुवा, भालु, बाँदर, स्याल, वनबिरालो, सेतो मुसा, हरिण, नीलगाई, जरायो, मृग, अजिंगर, खरायो, सेतो बाँदर, कछुवालगायत जनावर छन् । मयुर, सुगा, ढुकुरलगायत चराचुरूंगी पनि छन् ।

बुटवल उपमहानगरपालिका–२, पुरानो बटौली क्षेत्रमा पर्ने मणिमुकुन्द सेन उद्यान पर्यटकीय स्थलमात्र नभई ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा समेत परिचित छ । उद्यानभित्र पन्ध्रौं शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको शीतकालीन दरबारको भग्नावशेष पनि छ । यसै आधारमा उद्यानको नाम मणिमुकुन्द सेन राखिएको हो ।

उद्यानको पश्चिमतर्फ कुनामा रहेको मणिमुकुन्द सेन दरबारको भग्नावशेष होचो पर्खालमाथि फलामको बार हालेर सुरक्षित राखिएको छ । सेन वंशका राजाहरूले रंगमहलका रूपमा प्रयोग गरेको यो दरबार इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजसँगको युद्धमा नेपाली सैनिकहरूले प्रयोग गरेको र त्यतिबेला नै भत्किएको भन्ने इतिहास छ । दरबारको पूर्वतर्फको भित्ता अहिले पनि ठाडै छ ।

भग्नावेशष संरक्षणको काम मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले गर्छ तर खुला आकाशमूनि चर्को घाम र वर्षाका कारण भित्ता भत्किने जोखिम छ । समितिका अध्यक्ष माधव नेपालले भग्नावेशषको रेखदेख गरे पनि अन्य काम पुरातत्व विभागले गर्दै आएको बताए । गर्मी र वर्षाका कारण भित्ता भत्किन नदिन छानो लगाउन सकिने भए पनि पुरातत्व विभागको स्वीकृति आवश्यक पर्छ ।

तत्कालीन पाल्पाली राजा रूद्र सेनका जेठा छोरा मुकुन्द सेनको जन्म वि.सं १५५३ सालमा भएको थियो । उनी १५७५ सालमा पाल्पाका राजा भए । पछि छोराहरूको सहयोगमा राज्यहरू एकीकरण गरे । उनै मुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रूपन्देहीको सीमाक्षेत्र नुवाकोटमा गृष्मकालीन दरबार निर्माण गरी राज्य चलाएको भन्ने इतिहास छ ।

इतिहासअनुसार जाडो याममा बुटवल बस्ने मुकुन्द सेन गर्मी याममा नुवाकोट गढीमा बस्ने गर्थे । विसं १६१० मा देवघाटमा तपस्यामा लीन भई सिद्धि प्राप्ति गरेका मुकुन्द सेनलाई मानिसहरूले ‘मुनि मुकुन्द’ भन्न थाले ।

इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार यिनै मुनि मुकुन्द कालान्तरमा मणिमुकुन्द सेन भएल। पाल्पाली राज्य बलियो बनाएको श्रेय पाएका मणिमुकुन्दको निधन ६९ वर्षको उमेरमा १६२२ सालमा भयो । तिनै मणिमुकुन्द सेनको दरबार रहेको क्षेत्रलाई उनकै नामबाट अहिले आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । मणिमुकुन्द सेनको इतिहास स्मरणीय राख्न उद्यानभित्र मणिमुकुन्दको पूर्ण कदको घोडसवार शालिक निर्माण गरिएको छ । कलात्मक ढंगले निर्माण गरिएको शालिकले उद्यानको आकर्षण त बढाएकै छ, यहाँको ऐतिहासिक महत्व पनि उजागर गरेको छ ।

उद्यान परिसरमा मणिमुकुन्द सेनकै पालामा निर्मित शिवमन्दिर रहेको छ । हाल उक्त मन्दिरको पुनर्निर्माण हुँदैछ । दरबारको भग्नावशेष नजिकै विष्णुपादुका रहेको छ । विष्णुपादुका दर्शनका लागि प्रत्येक वर्ष वैशाख र जेठमा भारतको गुजरातबाट ठूलो संख्यामा तीर्थयात्रीहरू आउने गरेका छन् ।

मणिमुकुन्द सेन उद्यानको लुकेको एउटा पक्ष पनि छ । त्यो हो यहाँको सुरूङमार्ग । तिनाउ पुल तर्ने सडकबाट दक्षिणतर्फ रहेको जितगढी किल्ला छ । यही किल्लामा नेपालले अंग्रेजलाई हराएको थियो । यहाँबाट मणिमुकुन्द सेनको दरबारसम्म करिब ६ सय मिटर लामो सुरूङमार्ग रहेको विषय धेरै पहिलेबाट उठेको छ ।

इतिहासका जानकारहरु पनि यसमा तथ्य मिलेको बताइरहेका छन् । जितगढीतर्फ सुरूङमार्गको प्रवेशद्वार उत्खनन् गरी अवलोकन गर्न मिल्ने बनाइएको भए पनि मणिमुकुन्द सेन उद्यानमा भने उत्खनन् गरिएको छैन ।

यस्तो छ इतिहास

वि.सं. १५७५ मा यहाँ तत्कालीन पाल्पा राज्यका प्रसिद्ध राजा मणिमुकुन्द सेनले शीतकालीन दरबार निर्माण गरेको इतिहास छ । जुन राजदरबारको भग्नावशेष अहिले पनि संरक्षित छ । पाल्पा राज्यको गृष्मकालिन दरबार पाल्पामा थियो भने शितकालिन दरबार बुटवलमा थियो । गृष्मकालमा राजकाजको काम पाल्पाबाट सम्पादन गरिन्थ्यो भने शितकालिन समयमा राजकाजको काम बुटवलबाट सम्पादन गरिन्थ्यो ।

त्यस्तै गृष्मकालका लागि आराम गर्ने महल बुटवलदेखि उत्तर डाँडास्थित पाल्पाकै नुवाकोट गढीमा पनि निर्माण गरिएको जनश्रुति छ । राजदरबार र फूलवारीको सम्बन्ध अन्योन्याश्रीत हुन्छ । त्यसैले यसको ऐतिहासिक तथ्य तथ्याङ्कमा द्विविधा छैन । जव राजा मणिमुकुन्द सेनले यहाँ राजदरबार निर्माण गराउनु भयो यस सँगसँगै दरबार वरिपरि सुन्दर बगैंचाको पनि परिकल्पना गरियो र हुर्काइयो एउटा विशाल र सुन्दर फूलबारी । जहाँ मौसम अनुसारका पुष्प वृक्ष र फलफूलहरुका वृक्ष पनि हुर्काइयो ।

यसको ख्याती बुटवल फूलबारीको रुपमा टाढा टाढा सम्म फैलिएको थियो भन्ने जनश्रुति छ । टाढाटाढाबाट मानिसहरु यो बगैंचा हेर्न र फलफूलको स्वाद लिन आउँथे भन्ने जनश्रुती छ । यो ऐतिहासिक र पुरात्वीक महत्वको उद्यानको १९ औं शताब्दी सम्म राम्रोसँग विकास र विस्तार भयो । जव वि.सं. १८६३ मा विशाल पाल्पा राज्य नेपाल अधिराज्यमा गाभियो, त्यसपछि यो राजदरबार र बगैंचा पनि उपेक्षित भयो । राजदरबार घाम पानीको असरले जिर्ण भई भत्कीयो । अहिले त्यसको भग्नावशेष संरक्षीत छ । त्यस्तै फूलबारी पनि नासियो ।

१८६३ लाई आधार मान्दा १७४ वर्षसम्म यो उपेक्षित अवस्थाबाट गुज्रीयो । वि.सं. २०३७ सालबाट यसको पुनर्जागरण शुरु भयो । बुटवल नगरपालिकाका त्यस वार्डका जनप्रतिनिधि मुन्निलाल शाक्यले यसको पुनर्जागरणको कुरा उठाए । उनले यसको खोज अनुसन्धान र पुनः निर्माण गर्नु पर्ने आवाज उठाए । फलस्वरुप ऐश्वर्य पार्कको रुपमा यसको पुनर्जागरणको प्रयास गरियो । तत्कालीन राजा वीरेन्द्रको ध्यानाकर्षण पनि गराइयो । तर यसले सार्थक रुप लिन सकेन ।

त्यसअघि बटौली (पारी बुटवल) बासीको फोहोर विर्सजन गर्ने क्षेत्र (डम्पिङ्ग साइट) को रुपमा रहेको थियो । पुनर्जागरण काल शुरु भएपछि फोहोर विर्सजन गर्न आंशिक कमी भयो । हुन त २०५३÷५४ साल सम्मै फोहोर विर्सजन गर्ने ठाउँको रुपमा दुर्गन्धित थियो । ५० को दशकबाट यसको पुनः निर्माणले गति लिएको हो । २०४९ सालमा सूर्यप्रसाद प्रधान बुटवल नगरपालिकामा प्रमुख (मेयर) निर्वाचित भएपछि प्रधानले यसको पुनः निर्माणलाई गति दिए ।

प्रधानको अभिभावकत्वमा बुटवलका समाजसेवीहरु द्वारिका प्रसाद उदय, ध्रुव तुलाचन, ऋषि ज्ञवालीलगायतले यसको पुनःनिर्माणमा योगदान गरे । द्वारिका उदयले जनही १ हजार १ सय ५० रुपैयाँ शुल्क लिएर २ सय बढी संस्थापक सदस्यता वितरण गरे र पुनः निर्माणको लागि ठूलो धनराशी सङ्कलन गराए । २०५४ सालमा भोजप्रसाद श्रेष्ठ बुटवल नगरपालिकामा मेयर निर्वाचित भएपछि पुनः निर्माणले गति लिनुको साथै यसले संस्थागत रुप लिएको हो । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको रुपमा सरकारी निकायमा दर्ता गरियो ।

संस्थापक अध्यक्ष भोजप्रसाद श्रेष्ठ बने । २०६५ सालमा यसलाई स्वायत्त संस्थाको रुप दिइयो । संस्थाका सदस्यहरु मध्येबाट मोतिराज ज्ञवाली अध्यक्ष निर्वाचित भए । ज्ञवालीको दुई कार्यकाल अध्यक्षपछि अध्यक्ष खेमप्रसाद लुइटेल नेतृत्वमा आए । उनले पनि दुई कार्यकाल बिताएर अहिले माधव नेपाल नेतृत्वमा आएका छन् ।

के के छन् पार्कभित्र ?

यहाँ पुष्पोद्यानका अतिरिक्त श्री स्वामिनारायण मुकुन्द धाम, बुद्धबाटिका, मणिमुकुन्द सेनले घोडा चढी सवार भएको शालिक, बुटवल स्मारक (जसमा रामपिथेकस, लखन थापा, मायादेवी, मणिमुन्द सेन, दशरथ चन्द, बसिर मिया, भिमदत्त पन्त, गौतम बुद्ध, चोकबहादुर गुरुङ्ग, जीवराज आश्रित, उजिरसिंह थापा, तारापति भट्टराई, सूर्य प्रसाद घिमिरे र यादवनाथ आलोकका मूर्ति राखिएका छन्) शिव मन्दिर, मजारथान, मुनामदन बाटिका, मदन आश्रित बाटिका, विसे नगर्ची बाटिका, शंखधर साख्वा बाटिका आदि मनोरम, ऐतिहासिक र ज्ञानबद्र्धक पूर्वाधार निर्माण गरिएका छन् ।

एनिमल कर्नरमा उद्धार गरी संरक्षण गरिएका भालु, चितुवा, चित्तल, मृग, राजहाँस, अजिङ्गर, निलगाई, खरायो, स्याल, चाइनिज मुसा, कछुवा, कालिज, ढुकुर, हरिण, लौकाट, सुगा आदि पशुपन्छीहरु पालिएका छन् । यहाँ विवाह, वनभोज, व्रतबन्ध, पूजा, कुलायन पूजा, आदि धार्मिक अनुष्ठानका अतिरिक्त डाँडाकाँडा, चिडियाखाना, जङ्गल हेर्न र शितल हावापानीको आनन्द लिन मानिसहरुको घुँइचो लाग्छ । नेपालका कुना काप्चा र भारतको उत्तर प्रदेश, विहार, महाराजगन्ज आदि क्षेत्रबाट ठूलो संख्यामा पर्यटकहरु आउँछन् । पछिल्लो समय यहाँको बालउद्यानले बालबालिकाको र अहिले सुरु भएको स्काई साइकिङले नयाँ पिँढीको मन तानेको छ ।

यस्ता छन् आगामी योजना ?

यसको गुरुयोजना निर्माणाधीन छ । यसको क्षेत्रलाई विस्तार गरी ३० विगाह पु¥याउने योजना छ । एउटा रिसोर्टको सोंच पनि छ । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । वि.सं. १८७१/७२ मा बुटवलमा भएको नेपाल अङ्ग्रेज युद्धमा नेपालले जितेको जितगढी क्षेत्र पनि हो । यहाँको पुरानो राजदरबारदेखि करिब आधा किलोमिटर पूर्वदक्षिण कुनास्थित जितगढीसम्म नेपाल अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्रयोग गरेको सुरुङ्ग मार्ग भएको जनश्रुति छ ।

यसको उत्खनन् गर्न सकियो भने यो अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने योजनामा समिति लागेको छ । पुरानो पाल्पा राज्यको राजधानी र जीतगढी क्षेत्रको उद्यानको रुपमा यसको प्रचार प्रसार एवं विकास र विस्तार गर्नुपर्छ । पाल्पाको नुवाकोट गढीसम्म यसको विस्तार गर्नुपर्छ, सामुदायिक वनसँग समन्वय गरी मणिमुकुन्द सेन र उजिरसिंह थापाको नाममा सङ्ग्रहालय निर्माण गर्न सकियो भने पर्यटकीय आकर्षण थपिने छ ।

वर्षेनि ७/८ लाख पर्यटकले भ्रमण गर्ने उद्यान यो भन्दा बाहेक अर्को सम्भवतः नेपालमा छैन । इतिहास, धर्म, संस्कृति, जैविक विविधता, फलफूल, पशुपन्छी आदिको खुला सङ्ग्रहालय हो मणिमुकुन्द सेन उद्यान । यहाँ नेपालको राजनीतिक इतिहास, नेपाल अङ्ग्रेज युद्धको इतिहास, मठ मन्दिर, संस्कृति र वनस्पतिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न मानिसहरु आउने गर्दछन् । यहाँ करिब ७५ थरीका वनस्पतिहरु पाइने उद्यानको भनाइ छ । यो उद्यान इतिहासको स्रोत हो ।

पुराना बाइसे चौविसे राज्यहरुमध्ये चौविसे पाल्पा राज्यको शीतकालिन राजधानी भएकाले पनि यसलाई लुम्बिनी पर्यटन चक्रमा समावेश गरी लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटक यहाँ आउने वातावरण बनाउने योजनामा समिति लागेको छ । अब शिव मन्दिरको पुर्ननिर्माण, गार्डेनिङलाई थप व्यवस्थित बनाउने, माथिल्लो भागमा हिमाल–पहाड–तराईको झल्को देखिने ठूलो बाघ भैरव झरना बनाउने, बालउद्यान नजिकै डमि पार्क बनाउने, प्रचारप्रसारका लागि हुलाक टिकट प्रकाशन र कार्यालय व्यवस्थापनका लागि इटिकटिङ र सफ्टवेयरको तयारी भएको प्रमुख कार्यकारी अधिकृत सिलवाल बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर