विषालु च्याउ खाँदा ज्यान जान सक्ने भन्दै प्रहरीले गरायाे सचेतनामुलक कार्यक्रम – Nepal Press

विषालु च्याउ खाँदा ज्यान जान सक्ने भन्दै प्रहरीले गरायाे सचेतनामुलक कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले विषालु च्याउ खाएर कसैको पनि अकालमा ज्यान नजावस् भनेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गास्थित पिपल चौतारामा जङ्गली च्याउ खाएको कारण मानिसहरूले अकालमै ज्यान गुमाउने हुँदा उक्त घटनाबाट बच्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पश्चिममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी हवलदार वकिलजंग शाहले बताए ।

साथै, कर्णालीमा विषालु च्याउ खाँदा तीन वर्ष यता ६ जनाको ज्यान गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷०७९ र ०८० मा प्रदेशको केही जिल्लाका ६ जनाको ज्यान गएको छ ।

नेपालमा विषालु च्याउ खाएर प्रत्येक वर्ष मानिसहरूको ज्यान जाने गरेको छ । जङ्गली च्याउ खान मिल्ने वा नमिल्ने भनेर छुटाउन नसक्दा अकालमा ज्यान जाने गरेको छ । केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्‍याउने विज्ञहरू बताउँछन् ।

शाहका अनुसार सबै जङ्गली च्याउ विषालु हुँदैनन्, विषालु च्याउ खाँदा कलेजो र मिर्गौलाले काम नगर्ने पनि हुनसक्छ तर अखाद्य च्याउले पेट बिगारी दिन सक्छ, त्यसबाट वाकवाक लाग्ने, बान्ता हुने, पेट काट्ने र पखाला लाग्ने र समयमा उपचार नगरेमा मानिसको मृत्यु समेत हुने गरेको छ ।

भौगोलिक विकटता, स्वास्थ्य सेवाको पहुँच, च्याउ सम्बन्धी चेतनाको अभावले विषालु च्याउ खाएर मानिसको मृत्यु हुने गरेको छ । केही मानिसहरूले विषालु च्याउ खाए पनि समयमा उपचार सेवा नपाउँदा मृत्यु हुने र कतिपयको उपचारको क्रममा मृत्यु गरेको भएको पाइन्छ । यस्ता अकालमा हुने मृत्युबाट बच्न विभिन्न जिल्लाहरूमा प्रहरीले सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *