रोयल्टी विवाद : अमर्यादित भाषा प्रयोग गरेकोमा सुरेश अधिकारीले गरे क्षमायाचना – Nepal Press

रोयल्टी विवाद : अमर्यादित भाषा प्रयोग गरेकोमा सुरेश अधिकारीले गरे क्षमायाचना

काठ्माडौं । रोयल्टीको विषयमा आफूले अमर्यादित भाषा प्रयोग गरेको बताउँदै संगीतकार तथा संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले क्षमायाचना गरेका हुन् ।

आफूले प्रयोग गरेको आलोचनात्मक शब्द र आवेगपूर्ण खरो भाषा, कोही कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने वा कुनै व्यक्तिप्रति समाजमा घृणा र द्वेष फैलाउने उद्देश्यले नगरेको उनको प्रष्टीकरण छ ।

‘मैले कोही व्यक्ति वा कुनै संस्थालाई तोकेर आरोप, लाञ्छना वा आलोचना गरेको हैन । त्यो त एउटा स्रष्टाको रुपमा सङ्गीत रोयल्टीप्रति उहाँहरुका गलत धारणा र कार्यशैली प्रतिको आक्रोश मात्रै हो । तर मैले गरेको पोस्टले सङ्गीत रोयल्टीप्रति उदार रहनुभएका केही मैले सम्मान गर्ने व्यक्तित्वहरुलाई समेत त्यस आलोचनामा मुछिएको अनुभुति भएछ । जसले म आफैंलाई दुःखी तुल्याएको छ’, अधिकारीले लेखेका छन्, ‘आफ्नो पेशागत हकहितका लागि कृयाशील रहनु भएका वहाँहरुप्रति मेरो सदैव सम्मान र आदर छ । आवेगवश रुपमा प्रस्तुत मेरो शैली र मबाट व्यक्त भएका शब्दहरुले कोही–कसैलाई चित्त दुखेको छ वा आफ्नो ब्यक्तित्वलाई धमिल्याएको जस्तो लाग्छ भने म सम्बन्धित सबैमा विनम्रता पूर्वक क्षमायाचना गर्दछु ।’

उनले क्षमायाचनासहित रेडियो टेलिभिजन र स्रष्टा कलाकारको आपसी अन्योन्याश्रित सम्बन्ध सुधार गरी एक अर्काको गरिमामय भुमिकालाई राज्यमा स्थापित गर्न ठोस सहकार्य गर्ने र आफू आफ्नो स्थानबाट सदैब तत्पर रहने बताएका छन् ।

उनले स्रष्टाहरुको कानूनप्रदत्त रोयल्टीको अधिकार र त्यसलाई व्यवस्थित गर्न राज्यले निर्धारण गरेको कानुनी प्रावधानप्रति संवेदनशील र जिम्मेवार रुपमा प्रस्तुत हुनसमेत अनुरोध गरेका छन् । साथसाथै, स्रष्टाहरुको रोयल्टीको निम्ति गठित संस्थाको अवमुल्यन, अपमान र तिनका काम कारवाहीहरुको विषयमा आफ्नो क्षेत्राधिकार नाघेर राखेका गलत धारणा, भ्रम र गलत सन्देशप्रति आफ्नो आपत्ति र असहमति कायमै रहने पनि बताएका छन् ।

श्रावन १ गते संगीतकार सुरेश अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो । उनले स्टाट्समा प्रयोग गरेको ‘अमर्यादित’ शब्दहरुप्रति आपत्ति जनाउँदै नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ (एक्योर्याब) द्वारा नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको मागसहित एक विज्ञप्ति जारी गरिएको थियो । अधिकारीको शो अभिव्यक्तिपछि निजी तथा सामुदायिक एफ.एम रेडियो सञ्चालकहरुका तीन संस्थाले उनका सबै गीतहरु बहिष्कार गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर